बिहीबार रातिदेखि भएको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखि लगातार बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ ।
राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ । राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् ।
उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टे क्षेत्रमा निकै बाक्लो हिमपात भएको छ ।
यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान हिँडेका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
जनजीवन कष्टकर
गए रातिदेखि डोटीका विभिन्न क्षेत्रमा बाक्लो हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाले गर्दा मानिसहरू घरबाहिर निस्किन सकिरहेका छैनन् ।
यहाँका खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीबारदेखि हिमपात भइरहेको छ । यस क्षेत्रमा केही हप्ता पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसो बढेको हो । पानीका मुहानदेखि रुखहरुमा समेत बाक्लो हिउँ जमेकाले गाईवस्तुलाई घाँस काट्न र मानिसलाई पानी खानसमेत समस्या भएको बडिकेदार गाउँपालिका–२ का भरत बोहराले जानकारी दिए ।
यसैगरी रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपातका कारण चिसो निकै बढेको छ ।
पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ पग्लिन नपाउँदै फेरि हिउँ थपिएपछि चिसो निकै बढेर दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले बताए ।
यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको मैकोटमा अर्का स्थानीय विकास पुनले बताए । पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने समस्या किसानलाई परेको उनले बताए । रुकुमपूर्वमा यस वर्ष सातौँ पटकसम्म हिमपात भइसकेको छ ।
यसैगरी गए रातिदेखिको वर्षा र हिमपातले त्रिभुवन राजपथ पनि अवरुद्ध भएको छ । सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताए ।