वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूलाई अहिले कोभिड-१९ विरुद्धको खोप पूरा मात्रा लगाइसकेको औपचारिक प्रमाण जुटाउनै धौ भइरहेको छ। क्यूआर कोड सहितको प्रमाणपत्र चाहिने देशमा जानलागेकाहरूलाई सरकारले सहज रूपमा त्यस्तो प्रमाणपत्र दिने व्यवस्था गर्न नसक्दा धेरैले अनावश्यक झमेला व्यहोर्नु परेको छ।
क्यूआर कोडसहितको प्रमाणपत्र लिनका लागि पहिला फारम भरेर बुझाउनै कठिन अनि प्रमाणपत्र पाउन कति कुर्नुपर्ने हो त्यो पनि अनिश्चित। यति काम सहज गरिदिन नसक्दा विदेश जाने साइत गरेर देशका विभिन्न ठाउँबाट काठमाडौं आएकाहरूले अनावश्यक तनाव र सास्ती झेल्नु परिरहेको छ।
बिहीबार टेकुस्थित स्वस्थ्य सेवा विभाग अगाडि जम्मा भएको भिडमा भेटिएका सुनसरी घर भएका ३२ वर्षीय श्यामकुमार बस्नेत एकजना यस्तै प्रतिनिधिपात्र हुन्।
क्युआर कोड सहितको प्रमाणपत्रका लागि ४ दिन अघि कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तालिम केन्द्रबाट फारम बुझाएका उनी भन्छन् - ‘आजसम्म तयार भएको छैन । अब २ दिन पछि कतार जाने टिकट छ । धेरै चिन्ता लागेको छ ।’
त्यही भिडमा अर्को आवाज सुनियो। ‘२४ घण्टामा तयार हुन्छ भनेको थियो । ५ दिन भइसक्यो धाएको, अझै तयार भएको छैन ।’
अर्कोतर्फ दैनिक करिब दुई हजार जनालाई प्रमाणपत्र वितरण भईरहेको स्वास्थ्य सेवा विभागको भनाइ छ । अनलाईन माध्यमबाट भरिएका फारमहरूको प्रमाणपत्र दुई दिनमा तयार हुन्छ भनिएको हो । तर फारम भर्नेहरूले सही तरिकाले नभरिदिएका कारण प्रमाणीकरण गर्दा ढिलोमा चार दिनसम्म लाग्न गएको विभागले जनाएको छ । तर समस्यामा परेकालाई पहिलो प्राथमिकता दिइएको भनाइ पनि विभागको छ। विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झा भन्नुहुन्छ, -‘मेरो टिकट भोलिको छ भनेर आउनेलाई पहिलो प्राथमिकता दिइएको छ।’ टिकट नै खेरजाने अवस्था आउन नदिइने उहाँले बताउनु भयो।
‘प्रमाणपत्र नआइ टिकट नकाट्नुस् भनेर आग्रह गरिरहेका छौं। तर टिकट काटेर आइदिनाले समस्या भएको छ’ वरिष्ठ जनस्वास्थ्य अधिकृत झाले भन्नुभयो । सोमबार र मङ्गलबार सिस्टम नै डाउन भएका कारण हिजो आज अलि चाप बढेको छ। विशेष गरी भौतिक उपस्थितमा बुझाइएको फारमहरू इन्ट्री गर्न समय लाग्ने भएकाले ढिला भएको हो । अब ९/१० दिनपछि क्यूआर कोड सहितको प्रमाणपत्र लिन सहज हुने विभागले जनाएको छ ।
यसैबीच सरकारले क्यूआर कोड सहितको प्रमाणपत्रको लागि अनिवार्य रूपमा अनलाइन फारम नै भर्नुपर्ने व्यवस्था गरेको छ। भौतिक रूपमा दरखास्त फारम लिन यही साउन २५ गते देखि बन्द गरिएको छ।
क्यूआर कोड नचाहिने मुलुकहरूका लागि खोप कार्ड प्रमाणीकरण गर्ने काम भने भौतिक रूपमा नै शुक्रराज ट्रपिकल अस्पतालबाट भैरहेको छ ।