नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैङ्कले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैङ्कले आज सूचना जारी गर्दै कोषको रकम ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैङ्कमा तीन करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु एक करोड पाँच लाख गरी जम्मा २१ करोड आगामी फागुन ४ गतेदेखि २०७९ फागुन ४ सम्मका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निक्षेप लिन चाहेको रकम र त्यसमा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी यही माघ २३ गतेसम्म बोलकबोल पेश गर्न भनेको छ । बैङ्कले बोलकबोलमा सहभागी हुन बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको तथा राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने सर्त राखेको छ ।
त्यस्तै निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेका, खुद तरल सम्पत्ती स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका तथा कर्जा निक्षेप अनुपात बैङ्कले निर्धारण गरेको सीमाभित्र रहेका बैङ्क तथा वित्तीय संस्थाले उक्त रकम निक्षेपमा लिन बोलकबोलमा भाग लिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै निक्षेप लिन बैङ्क तथा वित्तीय संस्था निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको हुनुपर्ने, रियल स्टेट कर्जा बैङ्कले तोकेको सीमा भन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको वा समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने, सर्वसाधारणलाई छुट्याइएको शेयर जारी भइसकेको हुनुपर्ने जस्ता सर्त पालना गनुपर्ने बैङ्कद्वारा जारी सूचनामा उल्लेख छ ।