कोरोना भाइरसको असरले हरेक वर्ष हुँदै आएको गाईजात्रा नामक प्रहसन कार्यक्रम पनि प्रभावित भएको छ। दर्शकहरू खचाखच राखेर हास्यव्यङ्ग्य प्रस्तुतिहरू दिने अवस्था छैन। गतवर्षदेखि भौतिक उपस्थितिमा कार्यक्रमहरु गर्न असम्भव भएपछि ‘डिजिटल’ रुपमा शोहरु प्रशारण गर्न थालिएको छ।
यो वर्ष मनोज गजुरेल र उनको टिमले ‘७८ सालको गाईजात्रा’ कार्यक्रम भर्चुअल माध्यमबाट प्रदर्शन गर्ने भएको छ। भदौँ १ गतेदेखि ७ गतेसम्म टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रम गजुरियल युट्युव च्यानलमा समेत हेर्न सकिने कालाकार गजुरेल बताउँछन्।
यो पटकको गाईजात्रा प्रहसनमा मनोज गजुरेलले विभिन्न अवतारमा प्रस्तुति दिने तयारी गरेका छन्। यसपटक बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रसियाका राष्ट्रपति भ्दालमिर पुटिन, पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको नक्कल गरेर कार्यक्रम प्रस्तुत गर्ने उनको तयारी छ। आफ्नो प्रस्तुतिमा उनले विदेशी नेताहरु र नेपाली नेताहरुको चरित्रमा देखिएर व्यङ्ग्य पस्किने भएका हुन्।
गजुरेलले देउवा र बेलायती प्रधानमन्त्री जोन्सनबीच ‘भिडियो कल’मार्फत हुने संवादलाई कार्यक्रममा प्रस्तुत गर्नेछन्। साथै रसियाका राष्ट्रपति पुटिन र पत्रकारबीचको संवादलाई ‘धमलाको जुमला’ शीर्षकमा प्रसारण गर्दैछन्।
यसपटकको गाईजात्रामा ३२ जना कलाकारहरु जोडिएको गजुरेलले बताए। शैलेन्द्र सिखंडा, किरण केसी, शिवशंकर रिजाल ‘जोगिन्दर’, रवि डंगोल, पशुपति शर्मा, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, सुवोध गौतम, राजा राजेन्द्र, सुमन कार्की, हिमेश पन्त लगायतका कलाकारले प्रस्तुति दिनेछन्।
राजनीतिक विषयमात्रै नभई यसपटकको गाईजात्रामा गैर राजनीतिक विषयवस्तु जस्तै सामाजिक सञ्जालदेखि, कोरोना महामारी र जलवायु परिवर्तनका विषयवस्तु समेत समेटिएको टिमले जानकारी दिएको छ।