चितवनको भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।
अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९३३ वटा बत्ती जडान गरिने छन् । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
अभियान अन्तर्गत शुक्रनगरबाट काम सुरु भइसकेको छ । साथै अगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ । महानगर प्रमुख दाहालको भनाइमा “सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने छ ।”
महानगरका मुख्य सहरी क्षेत्र तथा चोकहरू जिल्ला प्रशासन, हाकिम, चौबिसकोठी, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिँदै छ ।
बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ । यस अभियान अन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ ।
उज्यालो सहर अभियानमार्फत महानगरमा रातको समयमा यात्रु र सवारी साधनको आवतजावतलाई सहज बनाउन सडक बत्ती जडान सुरु गरिएको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले बताए।
हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलब ४६ किलोमिटर सडकमा ४०१ वटा सडक बत्ती जडान हुनेछन् ।
चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलब ८ किमीमा ५६९, मङ्गलपुरदेखि शुक्रनगर सम्मको २२ दशमलब १३ किमीमा ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलब ४२ किमीमा सडक खण्डमा ५८ वटा सडक बत्ती जडान हुने छन् ।
यसैगरी दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलब ८६ किमीमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किमीमा ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलब २६ किमीमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ । अन्य क्षेत्रमा पनि क्रमशः यस किसिमका बत्ती जडान गर्दै जाने इन्जिनियर पौडेलले जानकारी दिए ।