यो आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा उद्योग दर्ता बढेको छ । उद्योग विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएकामा चालु आवको सोही अवधिमा १५४ उद्योग दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ठूला, ५७ मझौला र ५२ साना उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १७ ठूला, २१ मझौला र ६५ साना उद्योग दर्ता भएका थिए ।
विभागमा हालसम्म दर्ता भएका स्वदेशी तथा विदेशी उद्योगहरूको सङ्ख्या ८ हजार ६०८ पुगेको छ । जसमध्ये १ हजार २५९ ठूला, १ हजार ९६६ मझौला र ५ हजार ३८३ साना उद्योग दर्ता भएका विभागले जनाएको छ ।
लघु उद्यम र घरेलु उद्योगबाहेक रु १५ करोडसम्म स्थिर पुँजी भएको उद्योगलाई साना, रु १५ करोडदेखि ५० करोडसम्म पुँजी भएका उद्योगलाई मझौला र रु ५० करोडभन्दा बढी पुँजी भएका उद्योगलाई ठूला उद्योग मानिएको छ ।
बढीमा रु २० लाखसम्म पुँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत सिप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ ।
उद्योग दर्ता बढेसँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा रु ७२ अर्ब ६२ करोडको लगानी प्रस्ताव भएकामा चालु आवमा सो लगानी बढेर रु एक खर्ब ८६ अर्ब पुगेको छ । हालसम्म रु २४ खर्ब ७० अर्बको लगानीसहित उद्योगहरू दर्ता भएको तथ्याङ्क विभागसँग छ ।
यसैगरी उद्योगले दिने रोजगारी पनि झण्डै दोब्बरले बढेको छ । गत आवको समीक्षा अवधिमा उद्योग स्थापनाबाट ६ हजार २८८ रोजगार भएकामा चालु आवको सोही अवधिमा १३ हजार ७४८ रोजगारी प्रस्तावित भएको विभागले जनाएको छ । हालसम्म दर्ता भएका उद्योगमा ६ लाख ४२ हजार ५४३ रोजगारी प्रस्ताव गरिएको छ ।
विभागबाट विदेशी लगानीको स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । गत आवको पुस मसान्तसम्म १२३ विदेशी लगानी स्वीकृति भएकामा समीक्षा अवधिमा सो संख्या बढेर १२९ पुगेको छ । विभागले हालसम्म पाँच हजार ३६६ विदेशी लगानी स्वीकृत गरेको छ ।
विदेशी लगानीका ठूला उद्योग ३१९, मझौला ५६६ र साना उद्योग चार हजार ४८१ दर्ता भएका छन् । समीक्षा अवधिमा विदेशी लगानी रु २३ अर्ब ४७ करोडबाट बढेर रु ३० अर्ब ५६ करोड पुगेको छ । हालसम्म रु तीन खर्ब ९५ अर्ब ४२ करोडको विदेशी लगानी प्रस्तावसहितका पाँच हजार ३६६ उद्योग दर्ता भएका विभागले जनाएको छ । (रासस)