आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । हिन्दु संस्कृति र परम्परा अनुसार नागको पूजा अर्चना गरी नागका तस्बीर घरको मूलढोकामाथि टाँसेर मनाइएको छ। यस दिन नागको पूजा गरी नागका तस्बीर ढोकामाथि टाँसेपछि वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायतका जीवका साथै अग्नि, मेघ र चट्याङबाट समेत भय नहुने जनविश्वास रहँदै आएको छ ।
सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानहरूमा विशेषरूपमा पूजा गरी नागलाई गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । नागपञ्चमी पर्वले नाग सर्प लगायतका जीवहरूको पनि मानिसको जीवनमा ठूलो महत्व छ र यिनीहरूलाई सम्मान गर्नु पर्छ, संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको छ।