प्रतिनिधिसभाका कानून निर्माता सांसदहरुले नेटवर्किङ व्यवसायीका पक्षमा निर्णय गर्ने गराउने गर्नाले त्यस व्यवसायबाट सर्वसाधारण ठगिने क्रम देशव्षापी बन्दै गएको छ । यस क्रममा दाङमा पनि ठगिएको भन्दै प्रहरीमा उजुरी परेको छ । उजुरीको आधारमा प्रहरीले नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो । तीनै जना होटेल सञ्चालक हुन् । तर प्रहरीले उनीहरुको नाम भने गोप्य राखेको छ ।
उनीहरुले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायत नेटवर्किङको ठग कम्पनीहरुमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको दाङ प्रहरीले जनाएको छ ।
यसअघि ललितपुर खोकनाका करीब दुई दर्जन युवाले नेटवर्कीङ गिरोहबाट ठगिएको भन्दै उजुरी दिएका थिए । तर ठगहरु विदेशमा बसेर अनलाइनबाट ठगेकोले उनीहरु पक्राउ पर्न सकेर्का छैनन् ।
नेटवर्किङ व्यवसाय बिना मिहिनेत सीमित व्यक्तिले रकम कमाउने ठगीधन्दा हो भन्ने विगतमा पुष्टि भै प्रतिबन्ध लागेको ठगीको काम हो । तर प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सांसदहरुले नेटवर्किङ व्यवसायीहरुको प्रभावमा परेर उनीहरुको हितमा काम गर्न सरकारी अधिकारीहरुलाई दवाव दिँदै आएका छन् ।
नेटवर्किङबाट ठगिएको भन्दै परेका उजुरी र ठग कम्पनीहरुमाथि कार्बाही गर्नेतर्फ ती सांसद मौन रहँदै आएका छन् । उपभोक्ता हित समिति नै उपभोक्ता ठगहरुका पक्षमा उभिएपछि नेटवर्किङको नाममा ठगीधन्दा देशव्यापी बनेको पछिल्लो नमूना दाङमा भएको ठगी हो ।