मानव सभ्यताको शुरुआतदेखि नै मानवजातिले प्रकृतिको पूजा गर्दैआएको पाइन्छ । जल, वायु, अग्नि, भूमि अनि आकाश अर्थात् अन्तरिक्षका देवी देवताको पूजा आराधना गर्ने विषयको उल्लेख वैदिक ग्रन्थहरूमा पाइन्छ ।
प्रकृतिको पूजासँगै प्रकृतिका अन्य चर अचरको समेत पूजा गर्ने गरिन्थ्यो। जस्तै गाई, गोरु, घोडा, नाग, काग, कुकुर, पर्वत, नदी जस्ता प्रकृतिका अङ्गको पनि पूजा गदर्थे ।
मानव सभ्यताको विकाससँगै मानिसहरूले आफ्नो जीवनलाई सरल र सहज बनाउनको लागि गाई, गोरु, घोडा, कुकुर, लगायत विभिन्न पशुपन्छी समेत साथमै राखी जीवनयापन गदर्थे भन्ने विभिन्न पुरातात्विक उत्खननबाट पाइएका प्रमाणबाट प्रष्ट हुन्छ ।
हाम्रो समाजमा आजसम्म पनि गाईलाई माता स्वरूपमा पूजा वन्दना गरिंदै आएको छ। गाईलाई लक्ष्मीको रूपमा पनि पूजा गरिन्छ । तिहार पर्वका वेला खासखास दिनमा काग, कुकुर, गाई, गोरु सबैको हामी पूजा गदर्छौ । गाईको नाममा गाईजात्रा पर्व तथा घोडाको नाममा घोडे जात्रा पर्व समेत हामी मनाउछौं। यसैगरी हाम्रो समाजमा नागको समेत विशेष दिन छ । श्रावण शुक्लपञ्चमीका दिन घरघरमा नागको विशेष पूजा हुन्छ ।
नागको पूजा गर्ने चलन निकै पुरानो रहेको पाइन्छ । प्राचीन शिवलिङ्गमा नागले घेरिनु, भगवान् विष्णुको शैय्या पनि नागकै रहनु, यस्तै गणेश देवी लगायत समस्त देव देवीको प्रतिमामा नाग अङ्कित हुनुले पनि यो ज्यादै पुरानो प्रचलन रहेको सिद्ध हुन्छ ।
वैदिक परम्परामा नागको पूजा वैदिक र तान्त्रिक दुवै प्रकारले गर्ने गरेको पाइन्छ । जस्तै श्री पशुपतिस्थित वासुकि मन्दिरमा पञ्चामृतको पूजा हुन्छ भने नाग पोखरी, नागदह जस्ता क्षेत्रमा तान्त्रिक पूजा समेत हुने गर्दछ ।
नेपालका विभिन्न धार्मिक स्थलहरूमा नागको स्थान र मन्दिर बनाइएको हामी प्रत्यक्ष देख्न पाउछौं । त्यस्तै वास्तुविज्ञानमा समेत घर बनाउँदा नागलाई स्थान दिने परम्परा पाइन्छ।
काठमाडौंको पशुपतिक्षेत्रस्थित वासुकिनाथको पूजा परम्पराबारे यहाँ संक्षेपमा उल्लेख गर्दछु ।
वासुकि मन्दिर श्री पशुपतिनाथ मन्दिरको ईशान कोणमा अवस्थित छ । श्री पशुपतिनाथको मन्दिरमा जस्तै वासुकी मन्दिरमा पनि दाक्षिणात्य पूजारी रहने गर्दछन् । वासुकिलाई अष्टनाग मध्येका एक मानिन्छ । वासुकि नाग भगवान् शिवका परम भक्त भएकाले सधैं शिवजीको घाँटीमा बेरिएर बस्ने गर्दछन् भन्ने पौराणिक कथा पाइन्छ । वासुकिलाई धनु (पिनाक) बनाउने गरेको र समुन्द्र मन्थनको समयमा वासुकिलाई डोरी बनाई मन्दराचल पर्वतमा अड्याएर समुन्द्र मन्थन गरिएको जस्ता विभिन्न प्रसङ्ग पौराणिक ग्रन्थमा आउँछन्। यसरी पशुपतिनाथका सन्निकट रूपमा वासुकिको उपस्थिति रहेको पाइन्छ ।
वासुकि मन्दिरमा वासुकिनाथको प्रतिमा र वासुकेश्वर शिवलिङ्ग लगायत प्रतिमा राखिएका छन् । यो मन्दिरको पूर्वतर्फ वाग्मतीको किनारामा वासुकि तीर्थ पर्दछ जहाँ स्नान गर्नाले घाउ खटिरा निको हुने मान्यता रहेको छ । वासुकिनाथ श्रीको रत्न संरक्षकको रूपमा रहेका छन् । यहाँ श्रावण कृष्ण चतुदर्शीदेखि कुसे औंशीको दिनसम्म एक महिना प्राचीन बाजाहरू बजाएर रातको चार प्रहर जगाउने परम्परा समेत छ । जसको मुख्य उद्देश्य नै श्रीको सम्पत्ति रक्षा गराउन वासुकिनाथलाई जागा गराउनु हो।
वासुकिनाथको यस मन्दिर स्थापनाको सम्बन्धमा पनि यस्तो किंवदन्ती छ। कुनै समयमा गरुडले वासुकिनागलाई मार्ने प्रयास गर्दा जसोतसो उम्किएर उनी श्री पशुपतिनाथको शरणमा गई तपस्या गरेछन्। आशुतोष भगवान् प्रशन्न भई वासुकीलाई यसै स्थानमा राखेर गरुडबाट निर्भय प्रदान गर्नुभएको भन्ने किंवदन्ती पाइन्छ ।
श्री वासुकिनाथको मन्दिर तल्ले शैलीको छ । यो मन्दिर दुई तलाको छ जसको दुवै तलाको छाना अडयाउन आकर्षक टुँडाल प्रयोग गरिएका छन् । वासुकि मन्दिर अनेक प्रकारका कलाकृतिले युक्त छ । यस मन्दिरको छाना गुणकामदेवको पालामा हालिएको हो । प्रताप मल्लले वि.सं. १७०६ मा वासुकि मन्दिरको पुनर्निर्माण गराएको इतिहास छ । हालको मन्दिर पनि त्यही समयको हो । वि.सं. २०१३ र २०३१ सालमा पनि यस मन्दिरलाई पुरानै शैलीमा जीर्णोद्धार गरिएको थियो ।
मन्दिर भित्रको वासुकिको प्रतिमा एकसरो नाग आसनमा सुखासनमा बसेको अवस्थामा देखिन्छ ।
श्री वासुकिनाथले सबै को रक्षा गरून् ।
ॐ नागकुलाय विद्महे विषदन्ताय धीमहि तन्नो सर्पः प्रचोदयात्॥
सन्दर्भ ग्रन्थ -
- कोइराला कुलचन्द्र, नेपालका आराध्यदेव श्री पशुपतिनाथ
- हिमवत्खण्ड
- डा. सोमप्रसाद खतिवडा
- पं. लोकनाथ अचार्य पशुपति महात्म्य