सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् ।
काेराेना महामारी नियन्त्रण भइनसकेकोले विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कृयाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा नगर्न भनिएको छ । शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिद्वारा सञ्चालन गर्न सबै शैक्षिक संस्थाहरूलाई निर्देशन दिइएको छ ।
त्यस्तै सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न भनिएको छ । यसैगरी सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र भिडभाड हुने कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न भनिएको छ ।
सप्तरीमा माघ १ गतेदेखि शैक्षिक संस्था बन्द गरिएको भएपनि माघ १६ देखि सञ्चालनमा आएको र जिल्लामा कोभिडका बिरामी अझै पनि ठूलो सङ्ख्यामा रहेकाले यस्तो निर्देशन दिएको प्रजिअ गौतमले बताए ।
स्थानीय प्रशासनको निर्देशनालाई बेवास्ता गर्दै जिल्लामा अहिले पनि राजनीतिक दलका कार्यक्रम, सभा-सम्मेलन भने भइरहेका छन् ।