नेपालमा खोप चिस्यान प्रणालीलाई सघाउन जापान सरकारले राष्ट्रसंघीय बाल कोष, युनिसेफमार्फत विभिन्न सामग्री उपलब्ध गराएको छ ।
जापानले ९ ओटा वाक–इन–कुलर्स, ३८ ओटा सौर्य ऊर्जाबाट चल्ने फ्रिज, १ हजार १०९ ओटा लामो बाटोमा खोप बोकेर लैजानमिल्ने सामग्री र ५३ ओटा चिस्याउने बाकस (कोल्ड बक्स) प्रदान गरेको छ ।
जापानले गत वर्षदेखि नै नेपाललाई खोप तथा खोप सामग्रीहरू सहयोग प्रदान गर्दै आएको छ । ‘नेपालले अहिले नयाँ भेरियन्टसहित कोभिडको तेस्रो लहर सामन गरिरहेको छ, जसका कारण खोप अभियान सरकारको उच्च प्राथमिकतामा परेको छ,’ नेपालका लागि जापानका राजदूत किकुता युताकाले भने ।
खोप अभियानमा खोपको उचित भन्डारण महत्वपूर्ण भएकोले सहयोगको उद्देश्य पनि भन्डारणको क्षमता वृद्धि गर्नु र देशभर खोप वितरण गर्न सघाउनु रहेको उनले बताए । जापानले प्रदान गरेको वाक–इन–कुलर ढुवानी योग्य भएको र तुलनात्मक रूपमा सस्तोमा र चाँडै जडान गर्न सकिने भएको उनले बताए ।
त्यस्तै विद्युत् नभएका स्थानमा खोप भन्डारणमा देखिएको समस्या समाधान गर्न सौर्य ऊर्जाबाट चल्ने फ्रिजले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
कोभिड-१९ विरुद्धको नेपालको प्रयासमा सघाउन जापानले अहिलेसम्म खोप, एम्बुलेन्स लगायत मेडिकल तथा चिस्याउने उपकरणलगायतका सामग्री अनुदानमा दिएको छ ।