हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाइने भएकाे छ ।
जिल्ला कोभिड-१९ सङ्क्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।
शनिबारसम्म शून्य सङ्क्रमित रहेको मनाङमा आइतबार ङिस्याङ गाउँपालिकाका एक जना २४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले बताए ।
उनका अनुसार खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङ प्रवेश गर्न दिइने छैन । मनाङका कर्मचारी र स्थानीयलाई सम्बन्धित स्थानीय तहले खोपको व्यवस्था गर्नेछ । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये ४ जनाको मृत्यु भएको छ ।
मनाङमा कोभिडको सङ्क्रमण बढ्न नदिनका लागि मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ स्थित तालडाँडामा हेल्थ डेस्क राख्ने र अनुगमन गर्ने निर्णय भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।
यसैगरी मास्क नलगाउनेलाई लगाउन लाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा अनुगमन गरेर अनिवार्य रूपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ आचार्यले बताए ।
मनाङमा खोप कार्डबिना यात्रुलाई प्रवेश निषेध गरिएको र बाह्य जिल्लाबाट सङ्क्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाइ छ ।