प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदकाे त्याग, तपस्या र बलिदानबाटै राजनीतिक व्यवस्था परिवर्तन गरी देशमा जनताको शासन स्थापना हुन सकेको बताएका छन् ।
सहिद दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रम देउवाले २००७ को एकतन्त्रीय जहाँनीया राणाशासनविरुद्धको क्रान्ति, २०४६ मा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन र २०६२-६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सहिदकाे त्याग रहेकाे बताएका छन् ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्धका प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको सम्मानमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ ।
निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते राणाशाहीले काठमाडौंको टेकुस्थित खरीको रूखमा झुन्डयाएर मृत्युदण्ड दिएको थियो ।
त्यसको ३ दिन पछि नै माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएर र १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।