सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ ।
दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ वटै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसन र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसका आधारमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको हो ।
पहिलो र दोस्रो मात्रा खोप कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल लगाएकालाई बुस्टरका रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन तथा पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका दिन मन्त्रालयले पत्राचार गरेको छ ।
यस्तै विदेशमा पहिलो मात्रा कोभिसिल्ड, अस्ट्राजेनिका, भेरोसेल, मोडर्ना, फाइजर खोप लगाएकाको हकमा पनि दोस्रो मात्राका रुपमा कोभिसिल्ड, अस्ट्राजेनिका खोप प्रदान गर्नसमेत अनुरोध गरिएको छ ।
पहिलो चरणमा यही माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेहरूलाई बुस्टर डोज दिन थालिएको हो । अहिलेसम्म बुस्टर डोज २ लाख ९९ हजारभन्दा बढीले लगाइसकेका छन् ।