रुपन्देहीको भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भएको उक्त विमानस्थलमा क्यालिब्रेशन उडान गर्न एरोथाईका दक्ष प्राविधिकहरू आएका छन् ।
बुधबार सडक मार्ग हुँदै काठमाडौँबाट भैरहवा पुगेका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेशन फलाइट गरेर मात्र स्वदेश फर्कने छन् ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते सिलान्यास गरेको राष्ट्रिय गौरवकोे आयोजना अबको एक महिनामा क्यालिब्रेशन उडान गरी परीक्षण उडानको लागि तयार हुने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेशन उडान अबको दुई तीन सातामै हुने विमानस्थलको दाबी छ ।
"एरो थाई कम्पनीका प्रविधिकहरू आइपुगेका छन् । अष्ट्रियाको प्रविधिकले नागरिक उड्डयनका १० जनालाई रोडियोसम्बन्धी तालिम दिइरहेका छन् । विमानस्थलमा हाल दर्जनभन्दा बढीको चिनियाँ टोली र अन्य पाँच जना विदेशी दक्ष कामदारले क्यालिब्रेशनको पूर्वातयारी सम्बन्धी काम गरिरहेका छन् । सबै काम पूरा भइसकेको छ । हाम्रो जोड नै क्यालिब्रेशन गरेर परीक्षण उडान गर्नेमा छ," आयोजना प्रमुख प्रवेश अधिकारीले भने ।
विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदानका लागि चहिने सबै दक्ष प्रविधिक जनशक्ति आएकाले अबको केही दिनमा नै क्यालिब्रेशन फ्लाइटको मिति तय हुन्छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माण गरेको हो ।
विमानस्थल भौतिक रुपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रूपमा पठाएको छ ।