बाढीपहिरो र बेमौसमी वर्षाबाट ठूलो क्षति बेहोरेका २९ जिल्लाका पीडितहरूलाई राहत सामग्री उपलब्ध गराइएको छ ।
अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनकाे १७ लाख अमेरिकी डलर सहयोगमा झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौँ, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही र चितवनमा राहत सामग्री वितरण गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रुपन्देहीमा राहत वितरण भइरहेको राहत वितरणमा संयोजकको भूमिका निर्वाह गरेका सञ्जीव बस्यालले जानकारी दिए ।
बस्यालका अनुसार रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार ४५६ परिवारलाई राहत सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसमध्ये १ हजार ३ सयभन्दा बढी परिवारलाई राहत प्रदान गरिसकिएको छ ।
रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी रहेको उनले जानकारी दिए । नगरपालिकाका मेयरलाई कोरोना सङ्क्रमण भएपछि राहत वितरण कार्य स्थगन गरिएको थियो । केही दिन भित्रै उक्त नगरपालिकामा पनि राहत सामग्री उपलब्ध गराइने बस्यालले बताए ।
प्रत्येक परिवारलाई २५ केजी चामल, १० केजी आँटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुन, साबुन, २/३ वटा ब्लैङ्केट लगायतका सामग्री उपलब्ध गराइएको छ ।