बागलुङमाअत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने गरी निषेध आदेश थप गरिएको छ। आज बिहान ५ बजेदेखि निषेध आदेशमा कडाइ गरिएको हो । यो आदेश आगामी भदौ ५ गते मध्यरातसम्म लागू रहने छ । यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित थप कडाइ गर्ने निर्णय गरेको थियो ।
केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमद्वारा जारी निषेध आदेश अनुसार सबै खाले सार्वजनिक तथा निजी यातायात बन्द भएका छन् । बजार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी/गैरसरकारी कार्यालय सञ्चालनमा पनि रोक लगाइएको छ । खाद्यान्न र पशुपन्छीका पसल हरेक आइतबार, बुधबार र शुक्रबार मात्र सञ्चालन हुनेछन् । यस्तै तरकारी, फलफूल, दूध, मासु, पानीलगायत अत्यावश्यक सेवाका पसल स्वास्थ्य मापदण्डको पालना गरेर दैनिक बिहान १० बजेसम्म मात्र खोल्न पाइने छ । विवाहलगायत संस्कारजन्य कार्यमा पनि एक पक्षबाट जम्मा सात जना मात्र सहभागी भएर घरमै गर्नुपर्ने गरी तोकिएको छ । काम नपरी घरबाहिर ननिस्कन र भीडभाडजन्य कुनै पनि क्रियाकलाप नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र व्यावसायिक तालिम परिषद्बाट सञ्चालन हुने पूर्वनिर्धारित परीक्षा भने सञ्चालन हुने जनाइएको छ । कोभिड–१९ विरुद्धको खोप अभियान यो अवधिमा पनि जारी रहने छ । एम्बुलेन्स, दमकल, शववाहनलगायत अत्यावश्यक सेवामा प्रयोग भएका सवारी साधन सञ्चालनमा भने कुनै अवरोध छैन ।
यस्तै सदरमुकामदेखि जिल्लाका विभिन्न भेगमा हुने खाद्यान्नको ढुवानीका लागि आइतबार, बुधबार र शुक्रबार सवारी साधन चलाउन दिइने भएको छ । बागलुङ भएर अन्य जिल्लामा जाने सवारी साधनले भने जिल्लाभित्र यात्रु चढाउन र ओराल्नसमेत नपाउने भएका छन् ।
बागलुङमा दोस्रो चरणको महामारी भित्रिएपछि गत वैशाख तेस्रो सातादेखि निषेध आदेश जारी छ । बीचमा सङ्क्रमणदर केही घटेपछि निषेधलाई खुकुलो पारिएकोमा पुनः सङ्क्रमण बढेसँगै कडा पारिएको हो । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६४८ छ । बागलुङमा कोरोना सङ्क्रमणबाट हालसम्म ६३ जनाको मृत्यु भएको छ। (रासस)