राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो ।
लुम्बिनी प्रदेशका तीन सिटका लागि भएको निर्वाचनमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।
गठबन्धनमा आवद्ध दलहरू नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा विजयी भएका हुन् ।
एमालेको तर्फबाट उम्मेदवारी दिएका दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार पराजित भए ।
गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मतभार प्राप्त गरेका छन् । बिहान सवा ९ बजे सुरु भएको मतदान अपरान्ह तीन बजे सकिएको थियो ।
आगामी २० फागुनमा २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदै छ । जसमध्ये लुम्बिनी प्रदेशबाट कोमल ओली, दीर्घनारायण पाण्डे र रामलखन चमारको कार्यकाल सकिँदैछ ।
लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी दुई सय ९६ मतदाता थिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहने व्यवस्था छ ।