राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टीको निर्देशन विपरीत म्याग्दी बेनी नगरपालिकाकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।
सन्जु मङ्गलबार नै मतदानका लागि पोखरा पुगेकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि छैन,’ उनले भनिन्, ‘मैले मतदान गरेँ । पार्टीले कारबाही गरे पनि भोग्ने होला अब ।’
राप्रपाबाटै निर्वाचित भएका बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का भने मतदानमा सहभागी भएनन् ।
गण्डकी प्रदेशमा कुल २२९ मतदातामध्ये दुई जनाले मतदान गरेनन् । एकजना राप्रपाका खड्का हुन् भने अर्का हुन् मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट हुन् ।
उनी हाल अमेरिकामा रहेको परिवार स्रोतले जनाएको छ । विष्ट यसअघिको राष्ट्रियसभा निर्वाचनमा पनि सहभागी थिएनन् । विष्ट स्वतन्त्र चुनाव जितेर एमाले छिरेका थिए ।
गण्डकीमा सत्ता गठबन्धन निकै बलियो छ । गठबन्धनको ३ हजार ३०० मतभार छ भने एक्लै लडेको एमालेको २ हजार ५५६ मतभार छ ।
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीमा तीन पदका लागि ६ जना उम्मेदवार छन् । कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनबाट महिला कोटामा कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार उम्मेदवार छन् । एमालेबाट भने महिलामा लीला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनाम उम्मेदवार छन् ।
आउँदो फागुन २० गते गण्डकीमा दिनानाथ शर्मा, खिमबहादुर विक र शान्तिकुमारी अधिकारीको पद रिक्त हुन लागेको हो ।