अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि दुईवटा टोली घोषणा गरेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यही माघ १५ र १८ गते दशरथ रङ्गशालामा हुने दुई खेलका लागि दुई टिम बनाउँदै ३४ खेलाडीलाई नै अवसर दिएका हुन् । पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान पाएका नौजना खेलाडीलाई नै उनले स्थान दिएका छन् ।
नयाँ खेलाडीमध्ये गोलरक्षकमा टीकेन्द्र थापा र शत्रुघन चौधरी, मिडफिल्डरमा सुदीप गुरुङ, आकाश बुढामगर, नवीन गुरुङ, आशिष राई र सुशील राई र फरवार्डमा कृतीशरत्न छुन्जु र प्रशान्त अवस्थी रहेका छन् । यस्तै प्रशिक्षक अब्दुल्लाहले जगजित श्रेष्ठ, विमल घर्तीमगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङलाई पुनरागमन गराएका छन् ।
टीकेन्द्र थापा
गोलरक्षक टीकेन्द्र नेपाली फुटबलमा परिचित नाम हो । जावलाखेल युथ क्लबबाट व्यावसयिक फुटबल खेलिरहेका टीकेन्द्रले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक अभ्यासमा मौका पाएका थिए । उनी पहिलो अवसरमै प्रशिक्षक अब्दुल्लाहको नजरमा पर्न सफल भएका हुन् ।
शत्रुघन चौधरी
विभागीय टोली नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक अब्दुल्लाहको नजरमा परेका शत्रुघन पुलिसका समेत पहिलो रोजाइका खेलाडी हुन् । उनले ०७५ र ०७६ सालकाे लिगमा समेत पुलिसको गोलपोष्ट सम्हालेका थिए ।
सुदीप गुरुङ
सुदिप गुरुङ समेत राष्ट्रिय टोलीका लागि नयाँ अनुहार हुन् । नवप्रवेशी सातदोबाटोले शीर्ष डिभिजनको पहिलो अनुभव लिएजस्तै सुदीपले समेत पहिलो पटक जारी सहिद स्मारक लिगको अनुभव बटुलेका हुन् । मिडफिल्डर सुदीप बल होल्ड गर्न, लामाे सट प्रहार गर्न र विपक्षी रक्षापङ्क्तिमा दबाब बढाउन सिपालु छन् । ए डिभिजन लिग खेल्नुअघि सुदीपले सातदोबाटोबाट बी डिभिजन लिग खेलेका थिए । जारी लिगमा समेत उनको प्रदर्शन राम्रो मानिएको छ ।
आकाश बुढामगर
आकाश एन्फा एकेडेमीका उत्पादक हुन् । सातदोबाटोलाई जारी लिगमा उत्कृष्ट प्रदर्शन दिएका आकाशले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एन्फा एकेडेमीसँगै आकाशले नेपालको यू-१५, १६ , १८ र १९ टोलीमा समेत खेलेका छन् । पछिल्लो राष्ट्रिय टोलीमा स्थान बनाउने आकाश एन्फा एकेडेमीका एक्ला मिडफिल्डर हुन् ।
नवीन गुरुङ
न्यू रोड टिम (एनआरटी) का नवीन पनि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । लेफ्ट ब्याक नवीनलाई प्रशिक्षक अब्दुल्लाहले पहिलो अवसरमै टोलीमा अवसर दिएका छन् । लेफ्ट ब्याकबाट बल बढाएर क्रस गर्नमा उनी सिपालु मानिन्छन् ।
आशिष राई
आशिष राईले च्यासल युथ क्लबबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पहिलो अवसरमै टोलीमा स्थान बनाएका हुन् । प्रशिक्षक अब्दुल्लाहले अन्तिममा आशिषलाई प्रशिक्षणका लागि अवसर दिएका थिए ।
सुशील राई
जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् सुशील राई । सातदोबाटोका लागि खेलिरहेका सुशीललाई शीर्ष डिभिजनमा थ्रीस्टारबाट समेत खेलेको अनुभव रहेको छ । सुशील पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।
कृतीशरत्न छुन्जु
जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका कृतीश पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए र पहिलो अवसरमै टोलीमा स्थान बनाए । लिगमा एनआरटीबाट अग्रपङ्क्तिमा खेलिरहेका कृतीशले मैदानमा भने कम अवसर पाएका छन् । कृतीश नेपाली फुटबलले पाएको नयाँ नाम समेत हो ।
प्रशान्त अवस्थी
जारी लिगको नवौं खेलमा कीर्तिमानी आठौं पटक सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सातदोबाटो युथका क्लबका प्रशान्त अवस्थीलाई पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइएको हो । प्रशिक्षक अब्दुल्लाहको सुरुआती प्रशिक्षण लिष्टमा नपरेका प्रशान्त मनाङविरुद्ध मैदानमा छाएपछि अन्तिम समयमा बोलाइएका हुन् । अभ्यासमा समेत आफूलाई प्रमाणित गरेपछि प्रशान्त राष्ट्रिय टोलीमा पहिलो अवसरमै पर्न सफल भए ।