राष्ट्रिय सभाकाे फागुनमा रिक्त हुने १९ स्थानका लागि आज बुधबार बिहान ९ बजे मतदान सुरु भएकाे छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट ३, मधेस प्रदेशबाट २, बागमतीबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ गरी १९ सदस्य निर्वाचनका लागि मतदान भैरहेको हो ।
मतदानको अवधि अपरान्ह ३ बजेसम्म छ । जसका लागि ८ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ ।
मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा, लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख वा अध्यक्षहरू र उपप्रमुख वा उपाध्यक्षहरू मतदाता रहन्छन् ।
मतदान सम्पन्न भइसकेपछि आजै मतगणना गरेर मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयाेगले गरेकाे छ । मध्यरातिसम्म मतपरिणाम आइसक्ने आयाेगका प्रवक्ता शालिग्राम शर्माले बताए ।