सवारी साधनमा लगाइएको जोरबिजोरको नियमले कोरोना संक्रमण दर झन् बढेको सरकारी तथ्यांकले नै देखाएकोछ । संक्रमण फैलिन नदिन भन्दै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले लागू गरेको जोरबिजोर प्रणालीले कोरोना भाइरस झन् बढी फैलिएको तथ्य संक्रामक रोग विशेषज्ञ डा. रमेशकुमार आचार्यले औंल्याएका हुन् । नेपालीत्व समाचारलाई दिएको विशेष अन्तर्वार्तामा डाक्टर आचार्यले नेपाल सरकारबाट सार्वजनिक तथ्यांकबाटै संक्रमण घट्नुको सट्टा झन् बढेको देखिएको उनले बताए ।
सरकारी तथ्यांक केलाउँदै डा. आचार्यले भने- संक्रमण दर पुस २८ मा ९ दशमलब १, माघ २ मा ३२ प्रतिशत, माघ १० मा ४८ दशमलब ६७ प्रतिशत र माघ ११ मा पनि ४८ दशमलब ३२ प्रतिशत रहेको छ; यातायातमा जोरबिजोरको नियम लगाएको ५ दिनमा त संक्रमण झन् बढेको देखियो ।” उनले अर्को तथ्यांक पनि थपे- “आइसीयुमा उपचार गर्नु पर्नेहरुको संख्या पनि निरन्तर बढेको छ जसमा पुस २३ मा ८२ जना रहेका थिए, माघ २ मा १२२ र माघ १० मा २३८ जना आइसीयुमा पुगेका छन्, माघ ११ मा २४५ जना आइसीयुमा पुगेका छन्, भ्याण्टिलेटरमा परेको चाप पनि घटेको छैन , २९ बाट ४४ पुगिसकेको छ ।”
यातायातमा मात्रै गरिएको संकुचनले संक्रमण घट्नुको सट्टा बढिरहेको उनले जिकीर गरे । मानिसहरु देशभरि नै निर्बाध निस्किइरहने तर सवारीका साधन घटाइदिने गर्दा घुुइँचो हुन गै संक्रमण फैलिएको तथ्यांकले नै पुष्टि गरेको उनको विश्लेषण छ । जोरबिजोर भन्नु बेकार हो भन्दै उनले “उत्ति नै मान्छेको लागि हजार गाडीको ठाउँमा पाँच सयवटा मात्रै गाडी चल्न दिइँदा कोचाकोच हुन गै संक्रमण झन् रफ्तारमा फैलिएको” बताए ।
संक्रमण फैलाउने एकीकृत स्रोतहरु
बेकारको जोरबिजोरको नियमले बस, टेम्पो र माइक्रो बसमा कोचिएर यात्रा गर्ने लक्षणविहीन यात्रु त संक्रमण फैलाउने प्रथम कारक नै हुन्, डाक्टर आचार्य भन्छन्- “अस्पताल र स्वास्थ्यकर्मीबाट पनि संक्रमण फैलिन मद्दत पुगिरहेको छ भने तेस्रो सरकारी कार्यालय, प्रहरी, सशस्त्र प्रहरी र सेनाबाट पनि लक्षणविहीन संक्रमितबाट संक्रमण फैलिइरहेको छ र चौथोमा खुल्लमखुल्ला अन्तर्राष्ट्रिय सीमा र जिल्ला सिमानामा भैरहेका हिंडडुलले पनि संक्रमणलाई खुल्लमखुल्ला बनाएका छन् ।”
नक्कली खोप कार्ड अर्को महामारी
नक्कली खोप कार्ड वितरणले महामारी झन् तीब्र भैरहेको अर्को तथ्य पनि डाक्टर आचार्य नेपालीत्वलाई जानकारी गराउँछन् । उनका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लामा फास्टफुड बिक्रीवितरणमा संलग्न २० देखि ४० वर्षका धेरै मानिसले खोप लगाएका छैनन् । तर खोप कार्ड चोरेर नक्कली कार्ड बनाउने र बाँंड्ने काम भैरहेको उनले दावी गरे । केही नर्स र डाक्टरबाट खोप कार्डको दुरुपयोग गरी खोप नै नलगाएका व्यक्तिहरुलाई कार्ड बाँंड्ने र त्यस्तै कार्ड देखाएर सार्वजनिक ठाउँमा निर्बाध प्रवेश र हेलमेल गर्ने काम भैरहेको उनले थाहा पाइरहेका छन् ।
ओमिक्रोन र नागरिक उस्तै
अरुलाई छक्याउनमा ओमिक्रोन भाइरस र नेपालका अधिकाँश नागरिक उस्तै रहेको डाक्टर आचार्यले विश्लेषण गरिरहेका छन् । मानिसमा रहेको रोगप्रतिरोधी स्वाभाविक क्षमता र खोपले निर्माण गरेको क्षमता दुवैलाई ओमिक्रोन प्रजातिले छक्याएको उनको भनाइ छ । मानिसको त्यस्तो क्षमतालाई जसरी छलेर ओमिक्रोन अघि बढिरहेको छ मानिसहरु धेरैले कोभिडविरुद्धका मापदण्ड पालना गर्दैनन् । मापदण्ड कसरी छल्ने भन्नेमा उनीहरु माहिर छन् । अर्कोतर्फ नेपालका एकथरि नागरिक यस्ता छन् जसले कोरोना भाइरस छ भन्ने नै मान्न तयार छैनन् । “परिवारमा कुनै सदस्यको मृत्यु नभएसम्म भाइरसबाट मृत्यु हुन्छ भन्ने पत्याउन ती मानिसहरु तयार छैनन्, त्यसैले तिनीहरुले न खोप लगाउँछन् न त मापदण्ड नै पालना गर्छन्, अनि संक्रमण फैलिने नै भयो”, डा. आचार्यले जानकारी दिए ।
न लकडाउन न जोरबिजोर: न्यूनतम परीक्षण
संक्रमित पहिचान महामारी फैलिनुको अर्को एक प्रमुख कारण हो । डा. आचार्यका अनुसार एकातिर छक्याएर हिडडुल गर्ने र फैलाउने प्रवृत्ति हुँदा लाखौं मानिस संक्रमित छन् तर नमुना परीक्षण भने ज्यादै न्यून छ । लाखौं संक्रमित भएको देशमा दिनमा २० हजार पीसीआर र पाँच हजार एण्टिजेन परीक्षण गरिरहने हो भने लकडाउन गरेपनि जोरबिजोर लगाएपनि बेकार हुने उनको दावी छ ।
“अधिकांश नागरिक प्रत्येक दिन कुनै न कुनै कामले निस्किन्छ र कोही न कोही संक्रमित बनेर घर फर्किन्छ र परिवारका सदस्यलाई सार्छ, यस्तो अवस्थामा लकडाउन पनि के काम?” उनले प्रश्न गरे । कन्ट्याक्ट ट्रेसिङ, परीक्षण, आइसोलेसन र कुनै पनि प्रभावकारी नभएकाले पनि लकडाउन नै गरेपनि ब्यर्थ हुने उनको ठम्याइ छ ।
अन्तर्राष्ट्रिय सिमानाबाट निर्बाध प्रवेश गर्ने र जिल्ला सिमाना तथा यातायातमा नियमन छैन । “लाखौं संक्रमित भएको यस्तो अवस्थामा कति जनालाई क्वारेन्टिनमा र कति जनालई आइसोलेसनमा राख्न सम्भव हुन्छ?” उनी प्रतिप्रश्न गर्छन् ।
समाधान के त?
थप क्षति रोक्न अझै पनि व्यस्थापकीय पक्षतर्फ ध्यान दिन सकिने डाक्टर आचार्यको सुझाव छ । त्यसका लागि पहिला त घर, कार्यालय र यातायात संक्रमणका मुहान भन्ने स्वीकार्नु पर्ने हुन्छ । बाध्यताबश बाहेक कसैले पनि पीसीआर र एण्टिजेन परीक्षणका लागि शुल्क तिर्न कसैले पनि नचाहने गरेको उनले बुझेका छन् । भन्छन्- घरघर वा वडावडामा प्रत्येक दुई हप्तामा निशुल्क एण्टिजेन परीक्षणको व्यवस्था गराउनु पर्छ ।
निसंक्रमणमा लगानी
चीनको उहानमा रहँदा उनले भोगेको अनुभवका आधारमा उनले सुझाव दिइरहेका हुन् । उनको सुझाव छ- प्रत्येक २४ घण्टामा एक पटक निसंक्रमण (डिस्इन्फेक्सन) गर्नुपर्छ । अस्पताल र सरकारी भवन तथा आसपासमा निसंक्रमण गरिनु अपरिहार्य छ । “त्यसका लागि सोडियम क्लोराइड शून्य दशमलब पाँच प्रतिशत र इथानोल ७० प्रतिशत देशभरका सरकारी भवन र अस्पतालमा दैनिक छर्किनु पर्छ”, उनले किटेरै भने ।
खोप बच्चालाई पनि
खोपले क्षति कम गर्छ भन्ने पुष्टि भैसकेको छ । दुई वर्षदेखि १७ वर्षसम्मका सबै बालबालिकालाई खोप लगाइनु पर्ने चिनियां अनुभव उनमा छ । “११ वर्षमुनिका बालबालिका अहिले पनि जोखिममा छन्, सरकारले सबैलाई दिने खोप नै ल्याउन सकेन, ल्याएको खोपमा पनि सिरिञ्ज अभाव भयो, सिरिञ्जको अभावमा फाइजर र माडेर्ना खोप लगाउन नै सकिएन, यस्तो हुन भएन ।”
खोप मात्र नभई अस्पतालको पूर्वाधार बढाउनेतर्फ तुरुन्तै निर्णय लिनु पर्ने उनले सुझाएका छन् । हाल नेपालमा आइसीयु १ हजार ७ सय ७९, एचडीयु ४ हजार र भेण्टिलेटर १ हजार ८८ वटा मात्रै छन् । संक्रमण र लापर्बाही बढ्दै गएमा सिकिस्त हुनेहरुका लागि यो पूर्वाधारले धान्नै नसक्ने भएकोले त्यसको संख्या उल्लेखनीय रुपमा बढाउन डाक्टर आचार्यले सुझाएका छन् ।