भ्रष्टाचारविरुद्ध विश्वव्यापी रूपमा सक्रिय संस्था ट्रान्सपरेन्सी इन्टरन्याशनलले नेपालमा भ्रष्टाचार नियन्त्रणका दिशामा कुनै प्रगति नभएको देखाएको छ । सो अन्तर्राष्ट्रिय संस्थाले आज जर्मनीमा जारी गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) प्रतिवेदनमा नेपालको स्थान अगिल्लो वर्ष जहाँ थियो अहिले पनि त्यहीँ छ ।
कुल १८० देशहरूमा सन् २०२१ मा सुशासनको स्थितिबारे अध्ययन गरी जारी गरिएको प्रतिवेदनमा सुशासनका आधारमा तय गरिएको बरियतामा नेपाल ११७ औँ स्थानमा रहेको छ । सुशासनका विभिन्न मापदण्डहरूका आधारमा पूर्णाङ्क १०० मा नेपालले ३३ अङ्क मात्र पाएको छ ।
अघिल्लो वर्ष सन् २०२१ मा जारी गरिएको प्रतिवेदनमा पनि नेपाल ३३ अङ्कका साथ ११७ औँ स्थानमा नै थियो।
ट्रान्सपरेन्सी इन्टरन्याशनल नेपाल भन्छ, ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ ।’
१०० पूर्णाङ्कमा ५० भन्दा कम अङ्क पाउने देशलाई भ्रष्टाचार बढी भएको देशका रूपमा लिइन्छ ।
प्रतिवेदनमा सबैभन्दा राम्रो सुशासन कायम गरेर पहिलो स्थान लिन सफल हुनेमा डेनमार्क, फिनल्याण्ड र न्युजिल्याण्ड छन् । यी तीनवटै मुलुकले ८८ अङ्क पाएका छन् ।
दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा राम्रो स्थान भुटानले बनाएको छ । उसले ६८ अङ्क प्राप्त गरेको छ । भारत र माल्दिभ्सले ४० अङ्क पाएका छन् । श्रीलङ्का पनि ३७ अङ्ककासाथ नेपालभन्दा माथि छ ।
त्यसपछि पाकिस्तान २८, बङ्गलादेश २६ र अफगानिस्तान १६ अङ्कका साथ नेपालभन्दा तल परेका छन् ।
बरियतामा सबैभन्दा पुछारमा परेर साउथ सुडान सबैभन्दा भ्रष्ट मुलुकमा दरिएको छ । उसले ११ अङ्क मात्रै पाएको छ ।