गोपाल थपलियाको आम परिचय पत्रकार हो । नेकपा एमालेको निकटता उनको राजनीतिक विचार हो । छलफल साप्ताहिक उनको पत्रकारीय मञ्च हो । यस्तो परिचय छँदाछँदै पछिल्ला वर्षमा उनी कवि बनेर निस्किएका छन् । “सत्ताको मान्छे” कविता संग्रह उनको पछिल्लो अभिव्यक्ति हो । आफ्नो साप्ताहिक पत्रिका हुँदाहुँदै उनले झण्डै साढे तीन सय पृष्ठको कविता संग्रह मकालु प्रकाशन गृह, कालिकास्थानबाट निकालेका छन् । १ सय ६४ वटा कवितामध्येको एउटा कविताको शीर्षकलाई उनले कविता संग्रहको नाम बनाएका हुन् । अभिव्यक्तिको ठाउँ आफ्नै पत्रिकामा छँदाछँदै प्रकाशक खोजेर कविता किन छपाए? कविता नै किन लेखे? अनि कवितामा के लेखे भन्ने कुरा महत्वपूर्ण हुन आएको छ । यिनै तीन प्रश्नको जवाफ खोज्न “सत्ताको मान्छे” माथि यो टिप्पणी गरिँदैछ ।
कविताको आफ्नै अभिव्यक्ति हुन्छ । कविता पढेर अर्थ्याउनु पाठकको स्वेच्छा हो । साथमा कृतिको परिचय खण्डले कविता लेखनको पृष्ठभूमि बुझ्न मद्दत गर्छ । त्यसका लागि “सत्ताको मान्छे” को शुरुमा ४ जनाले भूमिका र शुभकामना लेखेका छन् । तीमध्ये कविता संग्रहको शुरुको चार पृष्ठमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेटरप्याडमा गंगाप्रसाद उप्रेतीको शुभकामना मन्तव्य राखिएको छ । अर्को साढे तीन पृष्ठमा मोदनाथ प्रश्रितको “गोपालप्रसाद थपलिया: कविता क्षेत्रमा” शीर्षकको टिप्पणी लेखिएको छ । कविताको भूमिका भने जगत् उपाध्यायले १५ पृष्ठमा लेखेका छन् । “मेरो भनाइ” भनी कविले आफ्नो कुरो राखेर किताबले भन्न खोजेको कुरो राख्ने प्रयास गरेका छन् ।
उपर्युक्त चार वटै भूमिका हेर्दा थाहा हुने कुरा के हो भने थपलिया पत्रकारिताअघि नै साहित्यकार थिए । पछि पत्रकारको परिचय बलियो बनाए । अहिले फेरि साहित्यकारको परिचय पुनर्बहाल गर्दैछन् । यसो हुनुमा २०७० साल यता स्वास्थ्यमा आएको समस्या एक प्रमुख कारक भनिएको छ । दुवै हातका औंला चल्न नसक्ने अवस्थामा “दाहिने हातको बुढी औंलाले मात्र मोबाइलमा टाइप गरेर फेसकुकमा पोष्ट गर्न” थालेको थपिलयाले (पृष्ठ २६) लेखेका छन् ।
उनको राजनीतिक पृष्ठभूमि र आशा-निराशाका कुराहरु पनि भूमिकाहरुमा लेखिएका छन् । भूमिका लेखकहरुले प्रष्ट लेखेका छन् कि थपिलिया अहिले पनि नेकपा एमालेमा छन् र एमाले नै उनको विचार हो । कविता लेख्ने र भूमिका लेख्ने सबै एउटै दलीय विचारधारामा आबद्ध रहेका हुनाले कविले कवितामार्फत् इंगित गरेको कुरो के हो भन्ने कुरोमा भने समान्य पाठकलाई कुरा चपाउन खोजेको जस्तो भान हुन सक्छ । भूमिकाकारहरुले खुलस्त भन्न नसकेको र कविले घुमाएर भन्न खोजेको सन्देशलाई यस टिप्पणीमार्फत् खुलस्त पार्ने प्रयास गरिएको छ ।
पञ्चायतकाल निरंकुश भएको र जनताको बलिदानबाट प्राप्त बहुदलीय शासन व्यवस्थालाई समेत बदनाम बनाएको तथा पछि पनि “देश र जनतालाई दुख दिने, इमान्दार र त्यागी नेताकार्यकर्ता अनि जनताको मानमर्दन भयो” भन्ने थपलियाको भनाइ छ । “भ्रष्टाचारी, चाकरीबाज, चाप्लुसी गर्ने, कालोबजारी गर्ने, दलाली गर्ने एवं जनविरोधी तत्त्व हावी भए”, उनले कविता लेख्नुको कारण भूमिकामा प्रष्ट्याएका छन् । भन्न त उनले नयाँ र पुराना कविता संग्रह गरेको बताएका छन् । तर किन यस्ता कविता जन्मिए र सत्ताको खास मान्छे को हो ? भन्ने अर्थ्याउने हक पाठकमा मात्रै स्थापित हुन पुगेको छ ।
त्यसरी अर्थ्याउँदा भूमिका लेखकहरुबाट प्राप्त सूचना महत्वपूर्ण हुन आउँछ । थपलियाले फेसबुकमार्फत् साहित्यिक रचना प्रवाह गरिरहेको कुरा भूमिका लेखकहरुले उल्लेख गरेका हुँदा फेसबुकका भित्ता चहार्नु आवश्यक भयो । कविता रचनाको पृष्ठभूमि पत्ता लगाउने प्रमुख सहयोगी नै फेसबुक भयो । त्यसरी फेसबुकमा जाँदा उनले कविता मात्र नभई गीत र कथा पनि लेखेको पाइयो । कवितामा जसरी सत्ताको मान्छेले विवेक गुमाएको सन्देश उनले प्रवाह गरिरहेका छन् अन्य विधामा पनि उनले घुमाइफिराइ त्यस्तै विषयमा झक्झक्याउने काम गरिरहेको पाइन्छ ।
नेपालमा कम्युनिष्ट पार्टीको नाममा आमनिर्वाचनबाट बहुमत प्राप्त सरकार गठन र त्यसको कामकारबाही नै कविता संग्रहको पृष्ठभूमि हो भन्ने उनको फेसबुक बोल्छ । फेसबूकमा त उनी झण्डै एक दशकदेखि सक्रिय थिए । तर साहित्यमार्फत् अभिव्यक्ति दिने काम २०७५ सालदेखि तीव्र गतिमा बढाएको पाइन्छ । एमाले पार्टीमा आबद्ध व्यक्ति भनेर भूमिका लेखकहरुले नै खुलस्त पारेको अवस्थामा राजनीतिक असन्तुष्टिको प्रकटीकरण थपलियाले साहित्यबाट गरेको भन्न हिच्किचाउनु पर्ने अवस्था रहेन । २०७४ सालको आमनिर्वाचनबाट आफ्नै पार्टीको बहुमत र अन्यको समर्थन समेत जोड्दा प्रतिनिधिसभामा दुई तिहाईको बहुमत हासिल गरेको सरकारबाट प्रस्तुत कार्यसम्पादनबाट उत्पन्न खिन्नता यी पत्रकारले साहित्यबाट प्रकट गरेका हुन् ।
अरु पार्टीभन्दा आफ्नो पार्टीले के फरक शैलीमा काम गर्यो त? भन्ने प्रश्न यिनमा उब्जिरहेको यिनको साहित्यमा देखिन्छ । शीर्ष कविता “सत्ताको मान्छे” मा संग्रहको दोस्रो कविता हो । पहिलो कविता “गणतन्त्र” हो । गणतन्त्रका नेताले आफैंलाई राजा बनाए बन्नका लागि कविले यो शीर्षकको रकविसता राखेका हुन् । कम्युनिष्ट नेताहरु राजा भए भन्ने सन्देश उनले यो कवितामा यसरी राखेका छन्-
गणतन्त्र
गणतन्त्रमा राजा हुँदै हुँदैन
राजाजस्तो मान खोज्नु हुँदैन
जनतालाई अन्यायले छुनै हुँदैन
जनतालाई दुःख कसैले दिनु हुँदैन ।
भ्रष्टलाई गणतन्त्रमा स्थान हुँदैन
बिचौलियाको कुनै हैसियत हुँदैन
दमनकारी शासकको स्थान हुँदैन
सामाजिक अपराध कतै क्षम्य हुँदैन ।
शासन प्रणाली सबै लोकतान्त्रिक हुन्छ
सरकारमाथि जनताको नियन्त्रण हुन्छ
सबैले न्याय पाउने परिपाटी हुन्छ
यसरी गणतन्त्रले जनताको मुटु छुन्छ ।
दोस्रो कविता “सत्ताको मान्छे” लाई फेसबुकमा राख्दा कविले “आजको मान्छे” शीर्षक राखेको फेसबुक अध्ययनबाट पत्ता लागेको छ । संग्रहमा भने शीर्षक मात्रै फेरिएको छैन, कविता पनि परिमार्जित र विचारले दृढ बनाउन खोजिएको देखिन्छ । अर्थात् समाज र समय हेर्दै गर्दा कविले आजको मान्छे भन्दा पनि सत्ताको मान्छे जो भएपनि उस्तै हुँदो रहेछ भन्ने निर्क्यौल निकाल्न पुगेको पाइन्छ । फेसबुकको यो कवितालाई दवब्बर लामो बनाइएको छ जुन साढे दुई पृष्ठ लामो हुन पुगेको छ । आफ्नै पार्टीको सरकारलाई हेरेर लेखेको जस्तो लाग्ने यो कविताको मध्यखण्डमा कवि थपलिया भन्छन्-
सत्ताको मान्छेले
जनता बिर्सियो
भ्रष्ट सम्झियो
इमानदार बिर्सियो
कमिसनखोर सम्झियो
चाकडी सम्झियो
स्वाभिमान बिर्सियो
न्याय बिर्सियो
कालोबजारिया सम्झियो
पार्टी बिर्सियो
गुट सम्झियो
दास सम्झियो
योद्धा बिर्सियो ।
दुई तिहाईको बहुमतवाला सरकारका प्रधानमन्त्री केपी शर्मा ओली थिए । भरतमोहन अधिकारी जस्ता पुराना नेताले ओलीलाई भेटेर सुझाव दिन खोज्दा पनि भेट्न नपाएको समाचार आएको थियो । प्रधानमन्त्री ओलीको आफ्नै कार्यशैली थियो । उनले आफ्नै गूट बनाएको आरोप थियो । अन्तत: त्यसलाई सत्य ठहर गर्दै पार्टी टुक्राएर माधव नेपालहरुले बेग्लै पार्टी बनाए । कविता हेर्दा लाग्छ- कतै थपलियाले पनि ओलीलाई भेट्न पाएनन् अनि देखे- “सत्ताको मान्छे” । अथवा उनको सुझाव सुनिएन । पार्टीका नवप्रवेशीले अनेकौ मौका पाउने, चाकडीबाजले पद पनि पाउने, कालोबजारियाले छूट पाउने, अनेकौं भ्रष्टाचार काण्ड हुने, चाकडीबाज सल्लाहकार हुने तर पार्टीका आफू जस्ता पुरानाहरुको कुरा नसुनिने अनुभव कविताहरुमा ओकलिएको प्रतीत हुन आउँछ ।
तस्करहरु सक्रिय रहेको, घुसखोरी चलेको, इमान्दारी मरेको, शोषण गरिएको जस्ता १ सय ६४ वटा शीर्षकका उनका कविता संग्रहमा छन् । समयको परिवर्तनसंगै बेइमानी बढेको, सामाजिक विखण्डन बढेको आदि विषय पनि संगृहित छन् । “केको जनवादी भन्ने हो?” शीर्षकको कविताले पनि जनवादी भनिने कम्युनिष्ट पार्टीका नेताहरुको मुखुण्डो चित्रित गर्ने जमर्को कविबाट भएको छ । यसमा उनी भन्छन्-
भोकानाङ्गा जनता छन्, हामीले गरीब कहिल्यै नपारौं
अहंकार र आफ्नो मोजका लागि धन कहिल्यै नथुपारौं
लोकतन्त्र भनेको निमुखा जन सबैको साँचो सेवा हो
सत्तामा पुगी आफ्नैले मोज गर्ने नीति के कसैको पेवा हो?
-केको जनवादी भन्ने हो?
जसरी कविले दुई तिहाइको सरकारको नाम लिएनन् अनि लिएनन् केपी ओलीको पनि । त्यसैगरी नाम किटेका छैनन् बाबुराम भट्टराईको अनि प्रचण्डको । तर ती सबैका चरित्र चित्रण गर्दै देशको अवस्था उजागर गरिएको छ कवितामा । कतै थपलिया परिवार र आफन्त पनि चित्रित छन् अनि कतै समाज र छिमेकी पनि । समय बदलिँदा मान्छे कसरी बदलिन्छ र व्यवहार बदलिन्छ भन्ने मानवतावादी दृष्टिकोण प्रकट गर्ने कविको मनसाय कविताहरुमा पाइन्छ ।
भूमिका लेखनबारे
भूमिका लेखनले कृतिको सहज बोधगम्यतालाई मद्दत गर्छ । प्रस्तुत कृतिमा पनि उप्रेती, प्रश्रित र उपाध्यायले सक्दो गरेका छन् । माथि भनिएजस्तै सबै एकै धारको दलीय रुझानमा डुबेका हुनाले गूटगत राजनीतिका कारण कसले पार्टीको नीति र सिद्धान्त विपरीत काम गरेको हो र कविले कसलाई इंगित गरेको हो भन्ने किटान गर्न सबै चुकेका छन् । दलीय सीमाबाहिरका मानिसलाई भूमिका लेख्न दिएको भए कविता र तिनको पृष्ठभूमि या त “मकै खेती” वा “घुम्ने मेचमाथि अन्धो मान्छे”संग तुलना हुन सक्थ्यो होला । तत्कालीन व्यवस्थाको विरोध गर्न नपाइने कारणले मकैको खेती र घुम्ने मेचका विम्वहरु प्रयोग भएका थिए । आज आफ्नै पार्टीबाट गठित सत्ताको मान्छेलाई विम्व बनाइयो । सत्तामा जो आएपनि त्यो सत्ताकै हो र ऊसंग उसका गूट, कालोबजारिया तथा विभिन्न खराब प्रवृत्तिका र जनविरोधी व्यक्तिहरुकै उठबस हुन्छ अनि जनवादी भन्नु बेकार छ भन्ने विम्ब थपलियाले उठाएका छन् । यस्तो हुँदाहुँदै पनि तीनै जना भूमिकाकारले विम्ब, प्रतीक र अलंकारको संयोजनमा कविता संग्रह कमजोर रहेको टिप्पणी गरेका छन् । बरु यथार्थ परक, भाषिक रुपले सरल र सहज सम्प्रेषणीय चैं देखेका छन् उनीहरुले । उनीहरुले के कुरा छुटाएका छन् भने पत्रकारका रुपमा व्यक्त गर्न नसकेका कुरा कविका रुपमा आफ्नै नेतामाथि चित्रण गर्न “सत्ताको मान्छे” विम्व बनाउन थपलिया बाध्य भएका हुन् । भूमिका लेखन र समीक्षात्मक दृष्टिले सम्पादन समेत उपाध्यायको पठनीय नै छ ।
प्रश्रितको प्रस्तुति पनि संगठित छ । प्रज्ञा प्रतिष्ठानका कुलपति पदमा रहेका उप्रेतीको शुभकामना त शुभकामना नै भनिएको छ तैपनि लेखकीय संरचनामा साहित्यिक झंकारको कुलपतीय बास्ना जोसुकैले अपेक्षा गर्न सक्छ । प्रश्रितको भूमिकाको मिति गडबड छ । वि. सं. २०७७ चैत्र २६ हुनु पर्नेमा २०७८ छापिन पुगेछ । उपाध्यायले २०७८ जेठ २१ मा भूमिका लेखेको उल्लेख छ भने कुलपति उप्रेतीले २०७८ को दीपावलीमा शुभकामना लेखेको जनाएका छन् । भूमिकाका तिथिमिति र फेसबुकका अभिलेखहरु हेर्दा “सत्ताको मान्छे” कम्युनिष्ट पार्टीको नेतृत्वको दुई तिहाइ बहुमत सहितको शासन समयको अनुभवहरुको एक अभिव्यक्तिको संगालो हो । थपलिया कवि बन्नुको पृष्ठभूमि झल्काउने एउटा फेसबुकको एउटा स्टाटस यस्तो थियो-
कवितालाई समेत मकालु प्रकाशनले स्तरीय कागजमा प्रकाशित गरेर व्यावसायिक चुनौती मोलेको छ । मूल्य पाँच सय रुपैयाँ राखिएको छ । निष्कर्षमा भन्नु पर्दा कवि, भूमिका लेखकहरु र प्रकाशक कसैले प्रष्ट उल्लेख नगरेपनि थपलियाले पत्रकारिताबाट व्यक्त गर्न नसकेको विषयलाई कविताबाट आफ्नै पार्टीको शासनसमयको एक इतिहास लेखेका हुन् । अचम्मको पाटो के छ भने थपलियाले अनेकौं विसंगतिका विभिषिकाहरु उतारेका भएपनि सकारात्मकता र आशावादिता धेरै ठाउँमा अभिव्यक्त गरेका छन् । सुधारेर अघि बढ्नु पर्छ अनि सत्ताको मान्छे जो आएपनि सत्ताकै जस्तो हुनु पर्छ भन्ने हुँदै होइन भन्ने सन्देश प्रवाह गर्ने प्रयत्न गरेका छन् ।
पार्टीको अनुशासन भंग गरेको नदेखियोस् भनेर हुन सक्छ उनले “छलफल” को सट्टा फेसबुकमा कविता लेखे । सिधा लेखनको सट्टा विम्बात्मक शीर्षकहरु खोजे । अन्तत: उनलाई कृतिकार बनाएर समकालीन राजनीतिक पात्रहरुको एउटा काव्यिक इतिहास अभिलेखन गरेको जश प्राप्त हुने देखिन आउँछ । थपलियाको उद्देश्य हुन सक्छ- भविष्यमा सत्तामा आउन सक्ने कसै न कसैले “सत्ताको मान्छे” आजै पढून् ।
अस्तु ।