बागलुङस्थित धौलागिरि अस्पताल न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको सर्वेक्षणमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये धौलागिरि अस्पतालले सर्वाधिक अङ्क प्राप्त गरेको छ ।
यो अस्पताल गत असार र त्यसभन्दा अघि भएको सर्वेक्षणमा समेत उत्कृष्ट ठहरिएको थियो । न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी प्रदेशका ५० शय्याका अस्पतालमध्ये धौलागिरी अस्पताल उत्कृष्ट ठहरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिए ।
अस्पतालले आफ्ना कमी–कमजोरी सुधार गर्दै न्यूनतम स्वास्थ्य मापदण्ड बढाउँदै लगेको, अहिलेसम्म निरन्तर उत्कृष्ट हुँदै आएको र यसपटक न्यूनतम स्वाथ्य मापदण्डका आधारमा ८४ अङ्क प्राप्त गरेको उनले जानकारी दिए ।
विसं २०७७ मा गरिएको सर्वेक्षणमा ६६ अङ्क प्राप्त गरेको सो अस्पतालले २०७८ असारको सर्वेक्षणमा ७३ अङ्क प्राप्त गरेको थियो ।
सुरुको सर्वेक्षणमा औँल्याइएका कमी-कमजोरीलाई सुधार गर्दै गएकाले निरन्तर अङ्क बढाउँदै उत्कृष्ट हुन सफल भएको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र विक पोखरेलले बताए ।
“निरन्तरको सर्वेक्षण, सुझाव र छलफलबाट अस्पतालको विभिन्न विभागलाई सुधार गर्दै लगिरहेका छौँ । जस्तै फोहरको वैज्ञानिक व्यवस्थापन, बहिरङ्ग सेवा, इमर्जेन्सी विभाग र विपद् व्यवस्थापनमा धेरै परिवर्तन गरेका छौँ”, उनले भने, “अस्पतालले जनताको स्वास्थ्य सेवामा क्रमशः गुणस्तर वृद्धि गराउँदै लैजाँदाको परिणाम नै प्रदेशकै उत्कृष्ट अस्पताल बन्नु हो ।”
सर्वेक्षणमा अस्पतालका कमी-कमजोरी खोतल्ने र सुधारका लागि सुझाव दिने काम भइरहेको छ । सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषय आधारित रहेर अस्पतालहरूको मूल्याङ्कन गर्ने गरिएको छ ।
तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अङ्क प्रदान गरिन्छ । प्रत्येक पटकको सर्वेक्षणमा अस्पतालको न्यूनतम सेवा मापदण्ड अनुसार काम भए/नभएको अनुगमन गर्दै देखिएका कमी-कमजोरी सुधार्न सल्लाह दिँदै आएको निर्देशनालयले जनाएको छ ।