काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न पालिकाभित्रका विद्यालयहरूलाई निर्देशन दिएको छ ।
केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गरी भौतिकरूपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
पुनःनिर्देशनको बेवास्ता गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने महानगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्ररुपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।
सरकारको निर्देशनलाई बेवास्ता गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आएकोले कामपाले पुनः सूचना जारी गरेको र फेरि पनि बेवास्ता गरे कारवाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।
उनले भने, “महामारी नियन्त्रणमा सबैले साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत विद्याालय सञ्चालन गर्नु हुँदैन, तत्काल बन्द गरेर कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नुपर्छ ।”
काठमाडौँ उपत्यकामा हाल कोरोना भाइरस सङ्क्रमणको दर तीव्र गतिले बढिरहेको छ । उपत्यकामा दैनिक करिब ७ हजार सङ्क्रमित देखिन थालेका छन् । पछिल्ला केही दिनयता देशभरिमा दैनिक १२ हजारभन्दा बढीमा कारोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेकाले लोकसेवा आयोगले सबै परीक्षाहरू हाललाई रोकेको छ । यसैगरी त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयहरूले सुरु भइसकेका परीक्षासमेत स्थगित गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ ।