म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग हिमपातले अवरुद्ध भएको छ । लुलाङ हुँदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पूरै वडा यातायात सम्पर्कबाट विच्छेद भएको हो ।
वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार बाक्लो हिउँ जमेर पैदलमार्ग पुरिएपछि मानिस, घोडाखच्चर, गाइवस्तु सबैको आवतजावत बन्द भएको छ ।
“पुस १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुसको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्ग अवरुद्ध भएको हो,” उनले भने “खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानी ठप्प भएको छ ।”
लुलाङबाट गुर्जा पुग्न पैदल दिनभर लाग्छ । जङ्गल, भिरपाखा र खोल्साखोल्सी हुँदै हिंडनु पर्छ । समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइको देउरालीडाँडा पार गर्नुपर्छ । देउराली आसपासका क्षेत्रमा तीन फिट भन्दा बाक्लो हिउँ जमेको बताइएको छ ।
गुर्जाबासी अहिले घरभित्रै आगो तापेर बसेका छन् । घरबाहिरको काम गर्न सकेका छैनन् । गोठमा बाँधिएका गाइबस्तु र भेडाबाख्रालाई सुख्खा घाँस, पराल खुवाएर राखेका छन् । चरनका लागि वनमा लैजान सकेका छैनन् । खोला, ताल, पँधेरा र धारामा पानी जमेको छ ।
गत पुष १३ गतेको हिउँमा पुरिएर गुर्जामा एक जनाको मृत्यु भएको थियो । हिउँले गोठ भत्किदाँ पुरिएर बेपत्ता भएका ५० बर्षीय रामबहादुर छन्त्यालको दश दिनपछि शव भेटिएको थियो ।