नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७९ का लागि १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।
आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउनेछन् । वि.सं. २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । गत वर्षदेखि कोरोना महामारीले गर्दा पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा अप्ठेरो परेकाले काममा ढिलाइ हुँदा पञ्चाङ्ग प्रकाशनमा केही ढिला हुन थालेको हो ।
पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।
पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ ।
भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको भएपनि भित्तेपात्रो प्रकाशन गर्नेहरुले समितिसँग समन्वय नगरेको समितिले जनाएको छ । सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
अन्य भित्तेपात्रोहरू विभाग र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ ।