कोभिड-१९को दीर्घकालीन असरबाट विश्वको ठूलो जनसङ्ख्या प्रभावित भएको एक अध्ययनले देखाएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा अध्ययन अनुसार कोभिडबाट सङ्क्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्घकालीन असरबाट प्रभावित भएका छन् । अर्थात् विश्वका १० करोड मानिस कोभिडपछिको समस्याबाट प्रभावित छन् ।
अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो ।
‘कोभिडबाट सङ्क्रमित विश्वका कुल २३ करोड ३७ लाखमध्ये १० करोड जना कोभिडपछिको दीर्घकालीन समस्याबाट पीडित छन्,’ अनुसन्धानकर्ताहरुले भनेका छन् ।
कोभिडपछिको दीर्घकालीन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्नेतर्फ उनीहरुले सजग गराएका छन् ।
कोभिड संक्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ । अध्ययनअनुसार एशियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्घकालीन समस्या देखिएको छ ।
कोभिड भएको दुई सातापछि पनि एक महिना वा सो भन्दा लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्घकालीन कोभिड मानिन्छ । कम्जोरी, सास फेर्न कठिनाई हुनु, पीडा, चिन्ता तथा डिप्रेसन दीर्घकालीन कोभिडका लक्षण हुन् । अनुसन्धानकर्ताहरुले गरेको अध्ययन पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित छ ।
गत सेप्टेम्बरमा गरिएको एउटा अध्ययनमा तीन कोभिड बिरामीमध्ये एक जनामा ३ देखि ६ महिनासम्म कोभिडको लक्षण रहेको पाइएको थियो ।