नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १४ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
सहायता सामग्री लिएर जाने नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदा गर्नुअघि परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको बताए ।
उक्त सामग्री आजै अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिने र उनीहरूमार्फत नै वितरण हुने उनले जानकारी गराए ।
संयुक्त राष्ट्र सङ्घकै समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा लगायतका सामग्री नेपाली जनताका तर्फबाट आफगान जनतालाई पठाइएको हो ।
हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाउन लागेको नेपालको इतिहासमै पहिलो भएको मन्त्री खड्काले बताए ।
उनले भने, “हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौँ नै तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।”
यस सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रूपमा प्राप्त गरी पठाउन लागिएको हो । टोलीमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, उद्योग-व्यापार संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायत रहेका छन् ।