कोरोनाविरुद्ध दुई मात्रा खोप लगाइसकेकाहरुलाई तेस्रो मात्रा (बुस्टर मात्रा) आजदेखि लगाइँदैछ । अग्रपंक्तिमा खटिनेहरुलाई आज माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर मात्रा लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएबमोजिम तेस्रो मात्रा लगाउन शुरु गरिँदैछ ।
पहिलो चरणमा आजदेखि स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्सचालक तथा शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरुलाई बुस्टर मात्रा लगाइनेछ ।
सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि आजैदेखि बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बुस्टर डोज दिने कार्यक्रम छ । क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरुलाई दोस्रो चरणमा बुस्टर मात्रा दिइने छ ।
पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएकाहरुले मात्रै बुस्टर मात्रा खोप लगाउन पाउनेछन् । जुन खोप यसअघि पहिलो र दोस्रो मात्रा लगाइएको थियो, सोही खोप बुस्टर मात्रामा दिइँदैछ । यसअघि खोप लगाएको कार्ड देखाएर खोप लगाउन पाइनेछ ।