गण्डकी प्रदेशमाथि ४० रनको जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टियु मैदानमा बागमतीले दिएको १४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रन मात्र जोड्न सक्यो ।
बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले समान दुई विकेट लिए । यस्तै रिन ढकाल, प्रतिश जिसी र रामनरेश गिरीले समान एक विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङमा आएको बागमतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो ।
बागमतीका विपिन आर्चायले सर्वाधिक ३० रन बनाएका थिए ।
गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान दुई विकेट लिए । यस्तै अशोक श्रेष्ठ, सुभास भण्डारी र कमल परियारले एक/एक विकेट हात पारेका थिए ।
बागमतीले समूह ‘बी’ को उपविजेता रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । बागमतीले चार खेलमध्ये तीनमा जित र एकमा हारको नतिजासहित ६ अंक जोड्यो ।
तीन खेल खेल्दासम्म अंकविहीन रहेको कर्णाली तालिकाको पुछारमा छ । यसअघि नेपाल पुलिस र एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।