निषेधाज्ञाका बीच धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुँइचो लागेको छ । कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनको प्रवेशमा रोक लगाएको थियो ।
छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने तर समूहगत रुपमा जान नदिने निर्णय भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । ‘निषेधाज्ञा खुलाइएको छैन । एक्ला–एक्लै जाने हो भने जान दिने भन्ने कुरा भएको हो’, उनले भने ।
त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटमा माघे संक्रान्तिको दिन हरेक वर्ष तिर्थालुको घुँइचो लाग्ने गर्छ । माघे संक्रान्तिको अवसरमा देवघाटको वेणी संगममा मकर स्नान गर्न जाने भक्तजनको घुँइचो अझै बढ्दै छ । भक्तजनको संख्या बढ्दै गएपछि देवघाटको वेणी संगम अस्तव्यस्त बनेको स्थानीय पत्रकार आशिक रानाले जानकारी दिए । ‘कतिपय भक्तजनले दासढुंगाबाट साना गाडीहरु पनि ल्याएका छन। आँपटारीबाट आउने भक्तजनको संख्या पनि उल्लेख्य छ’, उनले भने ।
त्यस्तै, उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणी धाममा आज बिहान माघे सङ्क्रान्तिको अवसरमा पाँच हजारभन्दा बढी भक्तजनले मकर नुहाएर पूजा–आराधना गरे । कोभिड पुनः तीव्ररुपमा फैलन थालेको भन्दै कटारी नगरपालिका र स्थानीय प्रशासनले त्रिवेणी मेला आयोजनामा रोक लगाए पनि मकर नुहाउन तथा पूजा गर्नका लागि आज बिहान ४ बजेदेखि नै छिमेकी जिल्ला सिरहा, धनुषा तथा सिन्धुली र उदयपुरका भक्तजन भेला भएका स्थानीय समाजसेवी केदार धमलालले बताए । बिहानदेखि १० बजेसम्ममा पाँच हजारभन्दा बढी भक्तजन त्रिवेणीमा नुहाएर पूजाआजा गरेको उनको भनाइ थियो ।
सबैभन्दा धेरै भक्तजन सिरहा र सिन्धुलीबाट आएको कटारी अर्का स्थानीयवासी विष्णुप्रसाद दाहालको भनाइ छ । दिउसो पनि त्रिवेणी नदी किनारमा ठूलो सङ्ख्यामा भक्तजन आउनेक्रम जारी रहेको छ । देशभर कोरोना तीव्ररुपमा फैलिन थालेपछि त्रिवेणीमा प्रत्येक वर्ष लाग्दै आएको १५ दिने मेला यसपटक सञ्चालन नगरिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । उनका अनुसार त्रिवेणीमा दर्शन गर्न र मकर नुहाउन भक्तजन आउने गरेका कारण सामाजिक दूरी कायम गर्दै पूजा आराधना गर्न सुझाव दिइएको छ।
प्रदेश नं १ कै महत्वपूर्ण धामका रुपमा यस धामलाई लिइन्छ । विगतका प्रत्येक वर्ष माघे सङ्क्रान्तिका समयमा यो धाममा छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा र बारासहित सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गासहित सुनसरी, मोरङ र झापाबाट समेत ठूलो सङ्ख्यामा भक्तजन मकर नुहाउन आउने गरेको स्थानीय बृद्ध पुण्यप्रसाद ढुङ्गानाले बताए। यसैगरी छिमेकी देश भारतको विहार, जयनगर दरभङ्गा र पश्चिम बङ्गालको दार्जिलिङ, कालिम्पोङ, खरसानसहित स्थानबाट पनि थुप्रै भक्तजन त्रिवेणीमा आउने गरेका थिए । माघे सङ्क्रान्तिमा मात्र नभई माघ महिनाभर नै देशरभरिका भक्तजन त्रिवेणी आउने गरेको नगर उपप्रमुख भीमकुमारी राउतले जानकारी दिए ।
कमला नदी र तावा खोलाको सङ्गमस्थलका रुपमा रहेको त्रिवेणी धामको पानीले नुहाउँदा शरीरमा रहेको विभिन्न चर्मरोग निको हुने र पूजा तथा आरधना गर्दा चिताएको पुग्नेसमेत जनविश्वास रहिआएको कटारी बजारका अर्का बृद्ध दुर्गाबहादुर श्रेष्ठले भने।
त्रिवेणीधाममा कमलेश्वर महादेव, शिद्धिगणेश र महालक्ष्मीलगायत अन्य देवी–देवताका मन्दिर छ । बाजेबाबुका पालादेखि त्रिवेणी धाममा मकर नुहाएर पूजापाठ गर्ने परम्परागत प्रचलनका कारण प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा यस क्षेत्रका बासिन्दाले मेला भर्ने गरेको रिस्कुकाका दानबहादुर दनुवारको भनाइ छ।
त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटमा माघे संक्रान्तिको दिन हरेक वर्ष तिर्थालुको घुँइचो लाग्ने गर्छ ।