नेपालको ताजमहलका रूपमा चिनिएको पाल्पाको रानीमहल दरबारलाई सङ्ग्रहालयका रूपमा विकास गरिएको छ । विसं १९५० मा पाल्पा गौँडाका तत्कालीन तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा उक्त महल निर्माण गरेका थिए । कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर उक्त महल बनाइएको छ ।
वि.सं. १९६० मा श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरेको आरोपमा तत्कालीन श्री ३ महाराज चन्द्र शम्शेरले तत्काल पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिएपछि खड्ग शम्शेर भारत पलायन भएका थिए ।
आन्तरिक पर्यटकहरूले निकै रुचाएको रानीमहललाई सङ्ग्रहालयका रूपमा विकास गर्न पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।
उक्त महलको मर्मत सम्भार र व्यवस्थापनमा हालसम्म ३५ देखि ४० लाख रूपैयाँ खर्च भइसकेको र आवश्यकता अनुसार बजेट व्यवस्थापन गर्दैजाने नगरप्रमुख शाहीले बताए । महलको सम्पूर्ण विकास गर्न अनुमानित १० करोड रुपैयाभन्दा बढी लाग्ने देखिएको पनि उनले बताए ।
करिब दुई महिनाको निरन्तर मेहनतले दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्न सकिएको नगरपालिकाका अधिकृत शङ्कर भण्डारीले बताए । हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई सङ्ग्रहालयमा राखिएको उनले जानकारी दिए । रानीमहल दरबारमा खड्ग शम्शेर र उनकी रानी तेजकुमारीले प्रयोग गरेका भेटिएसम्मका सामग्रीहरू राखिएका छन् ।
तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ क्षेत्रमा अवस्थित रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा छ ।