सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबको सहिद स्मारक 'ए' डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने अवसरसँगै उपाधि यात्रामा धक्का लागेको छ ।
त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा पराजित भएसँगै मनाङको उपाधि यात्रामा धक्का लागेको हो ।
नतिजासँगै मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ । ,जुन शीर्ष स्थानको मछिन्द्र भन्दा १ अंकले कम हो ।
खेलको पहिलो हाफमै सातदोबाटोले २–० को अग्रता लिएको थियो ।
३८औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थिए ।
५६ औं मिनेटमा आफिज ओलाओलेले गोल गर्दै मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए ।
जारी लिगमा आफिजको यो छैटौँ गोल हो र उनी सर्वाधिक गोलकर्ताको सुचीको अग्रस्थानमा छन् । सातदोबाटोका अजयी र मछिन्द्रका सुनिल बलको समान समान ५ गोल रहेको छ ।
लिगमा उत्कृष्ट सुरुआतका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो अन्ततः जितको लयमा फर्किएको हो । यसअघि सातदोबाटोले दोस्रो चरणमा थ्री स्टार क्लबलाई हराएको थियो ।
सातदोबाटो ९ खेलमा १२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा विभागीय एपीएफले हिमालयन शेर्पालाई १–० ले हराएको थियो । शनिबार लिगमा दुई खेल हुनेछन् ।