विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको हो । आर्मीका हरि चौहानले सर्वाधिक ३३ रन बनाए ।
यस्तै विक्रम सोबले २९, भीम सार्कीले १३ रन बनाउँदा शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए ।
सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए । चार ओभर बलिङ गरेका आदित्यले १४ रन खर्चिए ।
यसअघि टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।
सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ३७ रन बनाए । यस्तै वसन्त कार्कीले ३४ रन बनाउँदा विकेट किपर समेत रहेका अर्जुन साउदले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउँन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका विक्रम सोबले सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका विक्रमले आठ रन मात्रै खर्चिएका थिए ।
जितसँगै आर्मीले दोस्रो स्थानमा रहँदै सेमिफाइनल सम्भावना कायम राखेको छ । आर्मीको तीन खेलबाट ५ अंक रहेको छ । यता, सुदूरपश्चिमको भने तीन खेलबाट दुई अंक रहको छ र तेस्रो स्थानमा छ ।
समूह ‘ए’ मा तीन खेलमा शत प्रतिशत जितसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ ।