वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ)ले हालै जारी गरेको 'ग्लोबल रिस्क रिपोर्ट २०२२'ले नेपालमा बेराेजगारी र जिविकाेपार्जनमा सङ्कट सबैभन्दा ठूलाे खतराको रूपमा औँल्याएको छ ।
डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बढ्दैगएको बेराेजगारीलाई सबैभन्दा ठूलो खतराको रूपमा लिइएको छ । त्यसपछि दाेस्राे ठूलाे खतराकाे रूपमा मानवका कारण पर्यावरणमा भैरहेको क्षति रहेकाे छ । प्राकृतिक स्राेतकाे बढ्दाे दाेहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएकाे भनिएको छ ।
तेस्राे ठूलाे खतरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएकाे छ भने चाैथाेमा सङ्क्रामक राेगकाे सङ्क्रमणको खतरा रहेकाे छ । नेपालमा काेभिड-१९ मात्र हाेइन विभिन्न खाले सङ्क्रामक राेगकाे प्रकाेप बेलाबेला फैलने गरेकाे छ ।
पाँचाै नम्बरमा डिजिटल असमानता र लामाे समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएकाे छ । प्रविधिमा आएको क्रान्तिसँगै डिजिटल प्रयाेग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन् । जसका कारण डिजिटल सेवामा धनी र गरिबबीचकाे खाडल झन बढ्ने आकलन गरिएकाे हाे ।
नेपालमा आर्थिक विकासले गति समात्न सकेको छैन । कुल जनसङ्ख्याकाे झन्डै आधा जनशक्ति श्रमशक्ति रहे पनि विकासले फडकाे मार्न नसक्दा समस्या बढेकाे हाे ।
वर्ल्ड इकोनामिक फोरम (डब्लूईएफ)ले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ । जसमा विश्वसामु सबैभन्दा ठूला खतरा पहिचान गरिएकाे हुन्छ जसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक, जियो-पाेलिटिक्स र अन्य विषय समावेश गरिएकाे हुन्छ ।
याे वर्ष'ग्लोबल रिस्क रिपोर्ट २०२२', मा १२४ देशका १२ हजारभन्दा बढी दिग्गजका धारणा पनि समावेश गरिएकाे छ ।