२४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल भारोत्तोलन सङ्घले यही पुस २७ देखि २९ गतेसम्म भक्तपुरको मध्यपुरथिमिमा आयोजना गरेको प्रतियोगितामा सन्देशले सिनियर पुरुष ९६ किलोको स्न्याचतर्फ १०९ किलो भारवहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि विशालसिंह विष्टको नाममा १०८ किलोको कीर्तिमान थियो ।
सन्देशले स्न्याचमा १०९ किलोसहित क्लिन एण्ड जर्कमा १३७ किलो गरी कुल २४६ किलो भार उठाउँदै स्वर्ण पदक जित्न सफल भए । एपिएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कास्य पदक हासिल गरे ।
सिनियर पुरुष १०२ किलोमा विशालसिंह विष्टले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे । उनले स्न्याचमा १११ र क्लिन एण्ड जर्कमा १५० किलो गरी २६१ किलो भार उठाएका थिए । यसअघि सन्देश गुरुङको नाममा स्न्याचमा १०३ किलो र क्लिन एण्ड जर्कमा १३५ किलोको राष्ट्रिय कीर्तिमान रहेको थियो । प्रतियोगितामा आर्मीका विनोद खड्का दोस्रो तथा एपिएफका रणबहादुर नगरकोटी तेस्रो भए ।
प्रतियोगिताको सिनियर पुरुष ८९ किलोमा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले स्न्याचमा १०५ किलो र क्लिन एण्ड जर्कमा १३० किलो गरी कुल २३५ किलो भारवहन गर्दै प्रथम भए भने नेपाली सेनाका दिनेश कार्की दोस्रो तथा एपिएफका सन्तोष चौधरी तेस्रो भए ।
जुनियर पुरुष ८९ किलोमा बाँकेका सुरज वैश्यले स्न्याचमा ७३ किलो र क्लिन एण्ड जर्कमा १०५ किलो गरी १७८ किलो वजन उठाउँदै स्वर्ण जिते भने चितवनका समीर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कास्य प्राप्त गरे ।
युथतर्फ पुरुष ९६ किलोमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एण्ड जर्कमा समान ९०–९० किलो गरी कुल १८० किलो तौल उचाल्दै शीर्षस्थानमा पुग्न सफल भए । युथतर्फ महिला ८१ किलोमा कास्कीकी सिन्जल गुरुङले स्न्याचमा ३३ किलो र क्लिन एण्ड जर्कमा ४२ किलो गरी कुल ७५ किलो भार उठाउँदै प्रथम भइन् ।
सिनियर महिलाअन्तर्गत ७६ किलोमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ किलो र क्लिन जर्कमा ९३ किलो गरी कुल १६२ किलो भार उठाउँदै प्रथम भइन् । ८१ किलोमा प्रहरीकी जानकी बुढाले स्न्याचमा ६० किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी जम्मा १३८ किलो भार उचाल्दै स्वर्ण जितिन् ।
त्यस्तै ८७ किलोमा प्रहरीकी विद्या राईले स्न्याचमा ६३ किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी कुल १४१ किलो वजन उचाल्दै स्वर्ण पदक प्राप्त गरिन् भने एपिएफकी निशाना बलाल दोस्रो भइन्।
८७ किलोमाथि नेपाल आर्मीकी अस्मिता राईले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलोसहित कुल ११० किलो भार उचाल्दै स्वर्ण जितिन् ।
जुनियर पुरुषको १०२ किलोमा आर्मीका नीरज सिग्देलले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ८० किलो गरी जम्मा १३० किलो भारवहन गरेर प्रथम भए । सिनियर पुरुषको १०९ किलोमा प्रहरीका राजीव महर्जनले स्न्याचमा १०७ किलो र क्लिन एण्ड जर्कमा १२५ किलो गरी जम्मा २३२ किलो वजन उचालेर स्वर्ण प्राप्त गरे ।
त्यस्तै १०२ किलोमाथि आर्मीका पुकार गुरुङले स्न्याचमा १२० किलो र क्लिन एण्ड जर्कमा १४० गरी कुल २६० किलो भारवहन गर्दैै स्वर्ण जिते भने प्रहरीका सागर भण्डारी दोस्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेस्रो भए ।