नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथामको सन्दर्भमा आफ्नै पार्टीको सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले बिहीबार आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएकी हुन् ।
ध्यानाकर्षणपत्रमा उल्लिखित बुँदाहरू यस्ता छन् :--
१ परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने ।
२ बृद्व, बृद्वा/दीर्घरोगीहरू र बालबालिकाहरू बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्ने ।
३ नेपालमा तत्काल सबै नागरिकसामु खोप/बुष्टर पुर्याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप/बुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पुर्याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिने ।
४ नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दै देशभरीका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्ने ।
५ स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरूप कोरोना सुविधा/राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्ने ।
६ नयाँ भेरियन्ट फैलन नदिन सीमामा हेल्थ डेक्स, होल्डिङ सेन्टर/आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्ने ।
७ कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने/गराउने ।
८ कोरोना भाइरसलाई फैलन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न/गराउन कडाईका साथ पहल गर्ने/गराउने ।