भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम सङ्घीय सरकारले गर्ने भएको छ । रङ्गशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ ।
रङ्गशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छोडेपछि रङ्गशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशालाको स्वामित्व ग्रहण गरिदिन यही पुस २ गते महानगरलाई पत्र पठाएको थियो । रङ्गशालाको भौतिक तथा आर्थिक मूल्याङ्कन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो ।
महानगरले रङ्गशालाको भौतिक प्रगति मूल्याङ्कन गर्न सघन सहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याङ्कन गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थालाई जिम्मा दिएको थियो ।
प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार रङ्गशालाको भौतिक प्रगति १४ प्रतिशत छ । रङ्गशाला निर्माणमा हालसम्म ५१ करोडभन्दा बढी खर्च भएको देखिन्छ । दुईवटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेनु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन् । रङ्गशालाको बाँकी काम सरकारले गर्ने भएको छ ।
महानगरले प्रारम्भिक प्रतिवेदन पेश गरेपनि उक्त प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले अन्तिम रूप दिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । ‘फाइनल मूल्याङ्कन मन्त्रालयले पनि गर्न सक्छ । हामीलाई प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार चाँहि भौतिक प्रगति १४ प्रतिशत छ’, उनले भने, ‘त्यो प्रतिवेदन मेयरसापले मन्त्रालयमा लगेर पेस गरेका छन् ।’
सघन सहरीले तीन दिन अगाडि महानगरलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो । आर्थिक मूल्याङ्कनका लागि महागनरले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थालाई जिम्मा दिएको थियो । संस्थाले आठ दिनअगाडि नै आर्थिक मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदन महानगरलाई दिएको हो ।
दुवै निकायले बुझाएको प्रतिवेदनलाई प्रारम्भिक भनिएको उनले बताए । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको प्रारम्भिक प्रतिवेदन अनुसार ५१ करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिएको उनले बताए । रङ्गशाला निर्माणमा लागेको ऋणको विषयमा भने मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ ।
‘प्रारम्भिक रूपमा ५१ करोडभन्दा केहि बढी खर्च भएको देखिन्छ । वित्तीय प्रगति हेर्न बाँकी छ । ऋण कति रहेछ भनेर स्वतन्त्र अडिटले तयार गर्ने प्रतिवेदनसँग भिडाउन बाँकी छ’, उनले भने, ‘छिटो गरौँ भनेको भएर प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा पठाइहाल्यौँ । ऋणलगायतका कुरा निकाल्न बाँकी छ ।’
बाँकी कामको विषयमा सरकारले नै निर्णय गर्न सक्ने उनले बताए ।
अनुमानित तीन अर्ब रुपैयाँ लागतको रङ्गशाला निर्माण गर्दा हालसम्म ५४ करोडभन्दा बढी खर्च भइसकेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको दाबी छ । ५४ करोडमा १७ करोडजति त ऋण नै रहेको उनले बताए । फाउण्डेशनले महानगरलाई स्वामित्व ग्रहण गरिदिन भनेर लेखेको पत्रमा रङ्गशालाको भौतिक प्रगति ३५ प्रतिशत भएको भनिएको छ ।
रामपुरमा ३० हजार क्षमताको रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिका र फाउण्डेशनबीच १६ माघ २०७५ मा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । जनस्तरबाट अर्थ सङ्कलन गरेर रङ्गशाला निर्माण गर्ने फाउण्डेशनको योजना थियो । यसबीचमा सिर्जित कोरोना महामारीका कारण पर्याप्त अर्थ सङ्कलन हुन सकेन ।
रङ्गशाला बनाउन महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरसँग २० बिघा ६ कठ्ठा जग्गा लिएको हो । सहमति पत्रमा हस्ताक्षर भएको २ वर्षभित्र रङ्गशाला निर्माण सम्पन्न हुने बताइएको थियो ।
फाउण्डेशनका अनुसार रङ्गशालामा ३ हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । रङ्गशालाको लागि ४० हजार जनाभन्दा बढीले आर्थिक सहयोग गरेका फाउण्डेशनले बताएको छ ।