भोजपुरमा रहँदा घरका गहना बेचेर विद्यालय बनाउने र शहरमा आएपछि बुढाबुढीको अधिकारका लागि संघर्ष गरेका ढकाल बा अर्थात् सीताराम ढकाललाई स्मृतिग्रन्थ मार्फत् अमर बनाइएको छ । “ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल” नामक कृतिमार्फत् उनलाई अमर बनाइएको हो । ग्रन्थमा ७० जनाका लेखहरु संग्रह गरिएको छ ।
गाउमा रहँदा शिक्षाप्रेमीको परिचय बनाएका सीतारामले विकास निर्माणका साथै आइपरेका समस्या, झै–झगडा समाधान गर्नेदेखि ढकाल समाजको अध्यक्ष भएर लामो समयसम्म सामाजिक कार्यमा योगदान गरेका थिए ।
विसं २०५६ मा काठमाडौं आएपछि उनले ज्येष्ठ नागरिकको हकहितका लागि संघर्ष गरेका थिए । त्यसैले ग्रन्थको नाममै ज्येष्ठ नागरिक योद्धा भनेर चिनाइएको हो । सामाजिक योगदानकै कारण अधिकांश भोजपुरे बुद्धिजीवीहरुको जमघटका बीच उनको नामको कृति विमोचन गराउन सम्भव भएको हो । उनको २०७७ पुस ५ गते निधन भएको थियो । वार्षिकीको अवसरमा ग्रन्थ निकालिएको हो ।
मातापिताका भक्त छोरा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको सक्रियतामा सीताराम पदमकुमारी फाउन्डेसन स्थापना गरेर एक वर्षको अवधिमा सीतारामको कीर्तिबारे कृति निकालिएको छ । पुस्तक लोकार्पण समारोहमा साहित्यकार विन्दु अधिकारीका अनुसार समाजमा गरिबी र अशिक्षाको अन्धकार हटाउन ढकालको योगदान महत्वपूर्ण रहेकाले त्यही योगदान समेटेर पुस्तकाकारको रूपमा ल्याइएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ स्मृतिग्रन्थ लोकार्पण गरेका थिए ।
समारोहमा ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले शुभकामना दिएका थिए । डा.विप्लव ढकालले कविताकै माध्यमबाट शुभकामना व्यक्त गरे र ज्येष्ठ नागरिकको योगदानको चर्चा गर्नुभयो । प्रधान सम्पादक कुलप्रसाद पराजुलीले ग्रन्थ प्रकाशनका बारेमा प्रकाश पार्दै सबैको प्रयत्नले महत्त्वपूर्ण ग्रन्थ तयार भएको समीक्षा प्रस्तुत गरेका थिए ।
डा.देवी नेपालबाट ज्येष्ठ नागरिकको सम्मानमा कविता वाचन भयो भने हास्यकलाकार मनोज गजुरेल र शङ्करप्रसाद कोइरालाले शुभकामना व्यक्त गरे । भोजपुरे चेलीहरूले सङ्गिनी गाउनुभयो भने ढुण्डीराज अधिकारीले हाक्पारे गाएका थिए ।
समारोहमा ज्येष्ठ नागरिक ९२ वर्षीय गोपाल प्रजापतिलाई सम्मान गरिएको थियो । फाउन्डेसनका आजीवन सदस्यलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।