राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले आज सिंहदरबाको मूलगेटअगाडि रहेको सालिकमा माल्यार्पण गर्दैछन् । राष्ट्रपति भण्डारी ११ बजे आसपास माल्यार्पणका लागि रामशाहपथ जाने कार्यक्रम छ । पूर्वराजा शाहले साढे १२ बजे पुग्ने कार्यक्रम बनाएका छन् ।
विगतमा पूर्वराजा सालिकमा माल्यार्पण गर्न जाने गरेका थिएनन् । राष्ट्रपति भण्डारीले भने केही वर्षयता सालिकमा माल्यार्पण गरेर पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्ने गरेकी छन् । जनस्तरबाट भने पृथ्वी जयन्ती निरन्तर मनाउने परम्परा कायमै छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने परम्परा कायमै राखेको छ । उसले यसपटक आफैंबाट छुट्टिएर गठन भएका ललितकला र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसंग मिलेर संयुक्त रुपमा पृथ्वी जयन्तीका कार्यक्रम गरिरहेको छ । बाइसी चौबिसी राज्यमा विभाजित नेपाललाई गोरखा राज्यका राजा पृथ्वीनारायणले एकीकरण अभियान सञ्चालन गरेकै कारण हालको विशाल र एकीकृत नेपाल निर्माण भएकोमा गौरव गर्दै पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवस मान्ने गरिएको हो ।
२०६३ सालको जनआन्दोलन सम्पन्न हुनुअघि सरकारले सार्वजनिक विदा घोषणा गरेर राज्यस्तरबाटै राष्ट्रिय एकता दिवस मनाउने चलन थियो । २०६३ यता भने सरकारले यो दिवस मनाउने गरेको छैन । न्यून जनसंख्या रहेको क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने क्रिसमसमा शनिबारको विदाको दिनमा समेत वर्तमान सरकारले विदा दिनएको थियो । राष्ट्रिय एकता दिवसमा विदा नदिएकोमा सामाजिक सञ्जालमा असन्तसष्टि प्रकट भैरहेको छ ।
पृथ्वीनारायण शाहले व्यापारीको भेषमा नेपाल आई इशाई धर्म प्रचार गर्न सक्रिय ५६ जनालाई देशनिकाला गरेका थिए । मल्लकालमा काठमाडौमा इशाईहरुको निर्बाध प्रवेश धर्मप्रचारको अनुमति थियो । मल्लराजा जयप्रकाश मल्लको पालामा पादरी जिसेप्पी र पादरी माइकल एन्जेलोलाई काठमाडौमा बसेर धर्म परिवर्तनको मौका दिइएको थियो । पृथ्वीनारायण शाहले भने धर्म परिवर्तनलाई बन्देज लगाउँदै पुर्खाको धर्म मास्नेहरु ५६ जनालाई देश निकाला गरेका थिए । सोही कारण पनि दातृ समुदायको क्रिश्चियन समूहले पृथ्वीनारायणमाथि अनेकौं लाञ्छना लगाउने गरेका छन् ।
पश्चिमा प्रभावमा परेका नेपाली कतिपय लेखक र नेताहरुले पनि पृथ्वीनारायण शाहप्रति घृणा ओकल्ने गरेका छन् । हाल नेपालको सत्ताको सेरोफेरोमा रहेका दलका नेताहरुले पुर्खाको योगदान र पृथ्वीनारायणको महत्त्व सम्बन्धमा व्यक्तिगत धारणा सार्वजनिक गर्छन् । सरकारहरुले राष्ट्रिय एकता दिवस मनाउने परम्परा तोडिसकेका छन् । पुर्खाको योगदानको व्याख्या गर्ने एमाले अध्यक्ष केपी ओलीको सरकारले समेत यो दिवस मनाएन । राष्ट्रपति भण्डारी व्यक्तिगत तहबाट सालिकमा माल्यार्पणमा निस्किने गरेकी हुन् ।
जनमत आफ्नो पक्षबाट नभड्कियोस् भनेर व्यक्तिगत भाषणमा पृथ्वीनारायणको नाम लिने गरेका छन् । संस्कृति मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा पृथ्वीनरायण शाहको योगदानको बखान गरे । तर राष्ट्रनिर्माताप्रति गर्नु पर्ने राष्ट्रिय सम्मान र दिवस मनाउनका लागि आफ्नो मन्त्रालयबाट मन्त्रिपरिषदबाट निर्णय भने गराएनन् । पृथ्वीनारायणप्रति वैयक्तिक तहमा बेलाबखत केही नेताले ओठेभक्ति देखाउने गरेका हुन् । समकालीन शक्तिमा रहेका नेताहरु पाश्चात्य र इशाई स्वार्थको प्रभावमा रहेकोले पृथ्वीनारायणप्रति कृतज्ञता जनाउन हिच्किचाउने गरेको टिप्पणी विद्वानहरुले गर्ने गरेका छन् ।
नेपालको स्रोतसाधन र मुद्रालाई बलियो बनाएर स्वावलम्बी तथा आत्मनिर्भर देश बनाइराख्ने पृथ्वीनारायण शाहको दर्शन हो । तर अहिलेका नेताहरुबाट देशको आत्मनिर्भरताभन्दा विदेशकको निर्भरतामा पुगेकोले उनका दर्शन असान्दर्भिक बनाइएका छन् । नेपालको जनशक्ति विदेश पठाउने र विदेशी उपज नेपाल भित्र्याएर देशलाई विदेशीको उपभोक्ता बजार मात्रै बनाउने दर्शन र नीति वर्तमान नेताहरुबाट भैरहेको छ ।
राजनीतिक, व्यापारिक र दार्शनिक संगत नै विदेशीहरुको लाभका लागि भएकोले देशभित्रको स्रोतसाधन उपयोगबाट समृद्धि हासिल गर्नेभन्दा विदेशीको बजार बनाइदिएर नेता र आसेपासेहरु मात्रै समृद्ध बन्ने काम भैरहेको छ । यस्तो काम पृथ्वीनारायणको सिद्धान्तअनुकूल होइन । देशनिर्माणभन्दा व्यक्तिगत लाभका लागि मात्रै राष्ट्रिय नीति बनाउने नेताहरुबाट पृथ्वी जयन्ती नमनाउनु स्वाभाविकै हो । विदेशीले देखाएको मार्ग नै सबै नीतिको आधार हुने वर्तमानमा सत्ताबाट नेपालीत्व प्रवर्धनमा खासै योगदान अपेक्षा गर्न सकिँदैन । अल्पसंख्यक इशाईका लागि शनिबारको स्वत: सार्वजनिक विदाको दिनमा पनि “सार्वजनिक विदा” घोषणा गर्ने तर राष्ट्रनिर्माताप्रति बेखबर रहेबाटै सत्ताको नियत प्रष्ट भैसकेको छ । यस अवस्थामा नेपालीत्वमा विश्वास गर्ने देशवासीले स्वदेश चिन्तनलाई आफ्ना व्यवहारमा उतार्नु परेको छ ।