सरकारले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरी भूमि सुधार मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह सचिव बनाएको छ । भूमिसुधार सचिवमा गणेश पाण्डेलाई ल्याइएको छ ।
मन्त्रिपरिषदको सोमबारको बैठकले एक दर्जन सचिवको सरुवा गरेको मन्त्रिपरिषद स्रोतले बताएको हो ।
सञ्चार मन्त्रालयमा रिक्त सचिवमा प्रधानमन्त्रीको कार्यालयका डा. बैकुण्ठ अर्याललाई सरुवा गरिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याललाई रक्षा सचिव बनाइएको छ । उर्जा आयोगका सचिव सागरकुमार राईलाई उर्जा मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यसैगरी ४ वटा प्रदेशको प्रमुख सचिवमा पनि हेरफेर गरिएको छ । प्रदेश नं नं. १ मा रामप्रसाद घिमिरे, प्रदेश नं. २ मा हरिप्रसाद मैनाली, वागमतीमा किरणराज शर्मा र गण्डकीमा कृष्णहरि पुष्करलाई पठाइएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगमा गोकर्णमणि दुवाडी, महालेखा नियन्त्रकमा सुमनराज अर्याललाई सरुवा गरिएको छ । विगतमा ओली सरकारले कम महत्वपूर्ण ठाउँमा राखेकाहरुलाई बढी महत्वपूर्ण जिम्मेवारी दिएर सरुवा गरिएको हो । देशको ढुकुटीको प्रमुख (ट्रेजरी) मानिने अर्थ सचिवको केही दिनअघि नै फेरबदल भैसकेको छ ।
अर्थ, गृह, संचार र रक्षा लगायत महत्वपूर्ण मन्त्रालयका सचिव फेरिइसकेपनि भौतिक योजना लगायत प्रमुख विकासे मन्त्रालयमा हेरफेर हुन बाँकी रहेको एक मन्त्रीले जानकारी दिएका छन् ।