पश्चिम युरोपेली देशहरूमा कोभिड विरुद्धको खोप लगाउनु पर्ने सरकारी निर्णयको विरोधमा मानिसहरू सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।
त्यसमध्ये फ्रान्समा शनिबार करिव १ लाख मानिसले सडकमा प्रदर्शन गरेका छन् । उनीहरूले सरकारको कदमबाट खोप नलगाउने मानिसहरूको अधिकार हनन भएको दावी गरिरहेका छन् ।
खोप लगाइसकेको प्रमाणबिना रेष्टुरेन्टहरूमा गएर खान, सहरका रेलहरूमा यात्रा गर्न तथा सांस्कृतिक कार्यक्रमहरूमा सम्लग्न हुन नपाइने प्रावधान सहितको विधेयक सरकाले अघि बढाएपछि त्यसको विरोध भएको हो । सो विधेयकलाई संसदको तल्लो सदनले गत बिहीबार पारित गरेको थियो ।
फ्रेन्च सरकारले सो विधेयक दुवै सदनबाट पारित गरी यही जनबरी १५ तारिखसम्ममा कानुनको रूपमा लागु गर्ने तयारी गरेको छ । तर माथिल्लो सदन सिनेटले यसमा विलम्ब गर्न सक्ने अवस्था पनि छ ।
यसैगरी खोप नलगाउनेहरूका लागि यस्ता प्रतिबन्धहरू लागाइने छ कि उनीहरू बााध्य भएर खोप लगाउन आउने छन् भन्ने राष्ट्रपति इमानुअल माक्रोँको भनाइप्रति प्रदर्शनकारीहरूले कडा रोष व्यक्त गरेका थिए ।
प्रदर्शनकारीहरू धेरैले मास्कसम्म पनि लगाएका थिएनन् । उनीहरू वर्षा र हिमपातको समेत परवाह नगरी "सत्य" "स्वतन्त्रता" जास्ता नरा लेखिएका प्ले-कार्ड बोकेर प्रदर्शनमा जुटेका थिए ।
शनिबारको प्रदर्शनमा देशभरमा गरी १ लाख ५ हजार २०० मानिस सम्लग्न भएको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । जसमध्ये राजधनी पेरिसमा प्रदर्शन गर्नेहरूको संख्या करिव १८ हजार थियो ।
फ्रान्समा शुक्रबार एकै दिन ३ लाख जनामा कोभिडको नयाँ सङ्क्रमण पुष्टि भएको थियो ।