सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्षनेताहरूलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् ।
हालै आठौँ महाधिवेशन सकेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
महाधिवेशनमा सहभागी पत्रकारहरूमा पनि कोरोना संक्रमण भएको छ । साथै माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ ।
माओवादी केन्द्रीय सरकारमा आवद्ध छ । महाधिवेशनमा सहभागी भएका पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज माओवादीबाट मन्त्रिपरिषद्मा छन् । जसका कारण सरकारका मन्त्री पनि कोरोना सङ्क्रमणको जोखिममा छन् । प्रचण्डसँग भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसिसकेका छन् ।
पछिल्लो महिनायता राजनीतिक दलका महाधिवेशन र गतिविधिले कोरोना सङ्क्रमण जोखिम बढाएको भन्दै चिन्ता जनाउन थालिएको छ । सबै दलका महाधिवेशनहरूमा देशभरबाट जम्मा भएका नेता तथा कार्यकर्तालाई जनस्वास्थ्यको मापदण्ड पालना नगरी सहभागी गराएर राजनीतिक गतिविधि गरिएका थिए ।