भारतबाट आउने नेपालीहरूमा सङ्क्रमण दर बढेको छ । रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ ।
नेपाल भारत सीमा बेलहियामा मङ्गलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।
भारत बसेर आउनेहरूलाई शङ्का लागेमा सीमा विन्दुमै परीक्षण भइरहेको छ । पछिल्लो एक साताबाट सङ्क्रमितको संख्या बढेको छ । भारतबाट आउनेमध्ये दैनिक करिब ३०० जनाको एन्टिजेन परीक्षण गर्दा २०/२५ जनामा सङ्क्रमण पुष्टि भएको हेल्थ डेस्कमा खटिएका रेडक्रसका हेल्थ डेस्कका इन्चार्ज अभिनव निरौलाले बताए ।
‘नेपाल रेडक्रस सोसाइटीले बिहान ६ बजेखेखि नै शंकास्पद र रोजगारीबाट आएका नागरिकको एन्टिजेन परीक्षण र स्क्रीनिङ गरेको छ, तीन चार दिनबाट सङ्क्रमितको संख्या बढेका छन्, सङ्क्रमितमध्ये अधिकांश तीर्थयात्री र रोजगारीमा रहेका नेपालीहरू रहेका छन्’, उनले बताए ।
भारतका विभिन्न शहर र विदेशी मुलुकहरूमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका बेला पोजिटिभ देखिनेहरू अधिकांश दिल्ली, कलकत्ता, बनारस, गया, काशी लगायतका क्षेत्रबाट आएकाहरू छन् ।