पृष्ठभूमि
हानिकारक कणहरु सहितको बाक्लो तुँवालोले सन् २०२१ को अप्रिल महिनाको पहिलो सातामा हामीमाथिको आकाशलाई ड्याम्मै छोपेको थियो । जसका कारण सूर्यको किरण पृथ्वीसम्म आइपुग्देैनथ्यो । सूर्यको प्रकाश तथा ताप पृथ्वीमा भित्रिन नपाउँदा तापमानमा भारी गिरावट आई जाडो महसुस भैरहेको थियो । हानिकारक रसायन सहितका धूलोका कणहरु आकाश तर्फ जाने बाटो नहुँदा पृथ्वीको सतहमा झरिरहेका थिए । जसको कारणले हामीले श्वास फेर्दा रसायनहरु हाम्रो फोक्सोमा सजिलै प्रवेश गरिरहेका हुन्थे, साथै अत्याधिक प्रदुषणका कारण आँखा पोल्ने, छाती पोल्ने, श्वास फेर्न गाह्रो हुने र श्वासप्रश्वास सम्बन्धी समस्याहरु देखा परेका थिए । यस विकराल अवस्थाका कारण विद्यालयहरुमा पठनपाठन समेत बन्द गराइएको थियो । सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन र निस्कनै पर्दा विशेष सावधानी अपनाएर मात्र निस्कन स्वास्थ्य मन्त्रालयले सुझाएको थियो ।
के हो त तुँवालो ?
तुँवालो एक प्रकारको वायुमण्डलीय अवस्था हो, जहाँ धूलोका कणहरु, धुँवा तथा अन्य सुख्खा कणहरुले आकाश ढाकी अस्वच्छ मौसमी अवस्था श्रृजना हुन पुग्दछ । जसका कारणले दृश्यात्मक शक्तिमा समेत असर पुग्ने र नजिकैको वस्तु देख्नमा समेत कठिनाई हुने हुन्छ । प्रायजसोः अत्यधिक ट्राफिक, औद्योगिक प्रदुषण, डढेलो, सुख्खा यामको समयमा गरिएको खनजोत, आदिलाई तुँवालोका प्रमुख श्रोतका रुपमा लिन सकिन्छ । मौसम विज्ञानको भाषामा तुँवालोलाई दृश्यशक्ति घटाउने एरोसोल्स (हावाका स–साना कणमा अड्किएका ठोस कण तथा तरल थोपाहरु) भनिन्छ । सुख्खा मौसमको समयमा वायुमण्डलमा उत्सर्जित धूँलो र धूँवा एकिकृत हुदा तुँवालो बन्दछ ।
सन् १९९१ देखि नै तुँवालो दक्षिणपूर्वी एशियाकै एक तीब्र समस्याका रुपमा देखिदै आएको छ । यस समस्याको समाधानका लागि एशियाका देशहरु बिच क्षेत्रिय कार्ययोजना बनी कार्यान्वयन भएको थियो । त्यसरी नै सन्२००२ मा ट्रान्सबाउण्डरी तुँवालो प्रदुषण नियन्त्रण सम्बन्धी एशियाली मुलुकहरु बिच सम्झौता भई सोही अनुरुपको कार्य हुदै आएको भएता पनि आज पनि तुँवालो प्रदुषणको समस्या थप जटिल बन्दै गएको छ । सूर्यको किरण, आर्द्रता र हावाको चालले रासायनिक प्रतिक्रिया मार्फत वायुमण्डलमा उत्सर्जित प्रदुषणहरु जटिल प्रकारका प्रदुषकको रुपमा वायुमण्डलमा बनिरहेका हुन्छन् । जसलाई सेकेण्डरी प्रदुषक भनिन्छ । यस प्रकारका रसायन वातावरण तथा मानव स्वास्थ्यका दृष्टिले ज्यादै हानिकारक हुन्छन् ।
तुवाँलोका कारणहरु
सूदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा गरि लगभग हजारौं स्थानमा लागेको डढेलोका कारण सन् २०२१ को अप्रिल महिनाको पहिलो सातामा हाम्रो देशका विभिन्न भू भागमा बाक्लो तुँवालोले ढाकेको थियो । सन् २०२० को नोभेम्वरबाट तराइ तथा पहाडी जिल्लाहरुबाट शुरु भएको वन डढेलो विस्तारै देशका ७३ जिल्लामा फैलिएको थियो । वन तथा भू-संरक्षण विभागका अनुसार पूर्व ताप्लेजुङ्गबाट शुरु भएको वन डढेलो पश्चिम अछाम सम्म देखिएको थियो । पर्सा, गोर्खा, चितवन जिल्लामा अत्यधिक वन डढेलोका घटनाहरु भएका थिए । नेपाल सरकार वन अनुगमन प्रणालीका अनुसार देशै भरि गरि ५६२६ वटा वन डढेलोका घटनाहरु रेकर्ड भएका थिए, जसमध्ये ३००० भन्दा बढी घटनाहरु अप्रिल महिनाको १५ दिनभित्र भएका थिए । जुन बेला बाक्लो कालो धुँवाको असर मुख्य गरि मध्य नेपालमा परेको थियो । वन डढेलोको अलावा औद्यौगिक उत्सर्जन, सवारी साधनबाट उत्सर्जन भएको प्रदुषण पनि तुँवालोको कारकका रुपमा लिन सकिन्छ ।
तुवालोका असरहरु
१) वायु प्रदुषणः अत्याधिक मात्रामा उत्सर्जन भएको धुँवाको फैलावट वायु प्रवाहको दिशा र गतिमा भर पर्दछ । धुँवाको गुण र हानिकारकत्व हामीले प्रयोग गरेको इन्धनको प्रकार, जलाएको वायोमास र सो बाट उत्सर्जित धूँवाको कणमा भएको कार्वनमोनोअक्साइड र कार्वनडाइअक्साइडको अनुपातमा भर पर्दछ । साथै हावामा यस प्रकारका कणहरु कति समयसम्म रहन्छन भन्ने विषय हावाको चाप, गति तथा वातावरणीय अवस्था आदिमा भर पर्दछ । यसका लागि वृहत अध्ययनको खाचो रहेको छ ।
२) मानव स्वास्थ्यमा असरः मानव स्वास्थ्यमा तुँवालोको नकारात्मक असर यसको घनत्व, रसायनिक वनावट आदिमा भर पर्दछ । तर यस प्रकारको हावामा भएका २.५ माइक्रोन भन्दा साना धूँलोका कणहरु विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड (२४ घण्टामा २५ माइक्रोग्राम प्रति क्यूबिक मिटर) भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । श्वास लिने क्रममा त्यस्ता कणहरुले मानव फोक्सोमा प्रवेश गरि जम्मा हुदै जादा फोक्सोमा रहेका हावा रहने कोठाहरुमा अवरोध खडा गरिदिन्छ । यसरी फोक्सोमा प्रवेश भएका धूलोका कणहरु रक्तसंचार प्रणालीमा समेत प्रवेश गरी मानव शरिरका अंग अंगहरुमा पुग्दछ र मानव स्वास्थ्यमा विभिन्न खालका असरहरु देखा पर्दछन् । यस्ता साना धूँलोका कणहरुलाई सन् २०१३ मा विश्व स्वास्थ्य संगठनले क्यान्सर गराउने संवाहक (क्यान्सर कजिङ्ग एजेण्ट) को रुपमा समेत परिभाषित गरेको छ ।
विभिन्न अध्ययनहरुले जनाए अनुसार वायु प्रदुषणका कारण विश्वमा वर्षेनी ८० लाख मानिसको असामयिक निधन भएको छ भने मानिसको आयु औसतमा ३ वर्षले घटेको छ । जुन आकडा एच. आई. भी./ एड्स भन्दा ९ गुणा बढी र रक्सीजन्य पदार्थ सेवनका कारणले हुने मृत्युदर भन्दा ३ गुणाले बढि रहेको छ । हालै गरिएका अध्ययनका अनुसार चिनियांहरुको ४.१ वर्ष, भारतीयहरुको ३.९ वर्ष, पाकिस्तानीको ३.८ वर्ष र यूरोपियनहरुको ८ महिनाका दरले घटेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मानव स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचाङक ३५ भन्दा माथि हुन नहुने र यदि भएमा मानव स्वास्थ्यमा असर गर्ने जनाएको छ । त्यसरी नै ५० देखि १०० सूचकाङ्क स्तरलाई साधारण र २०० भन्दा बढीलाई मानव स्वास्थ्यका दृष्टिकोणले अत्यत्तै हानिकारक र विषालु हुने जनाएको छ । गत अप्रिल महिनाको पहिलो सातामा हाम्रा मुख्य शहरहरुमा वायु गुणस्तर दिनप्रतिदिन निकै बिग्रदै गएको थियो, जसमध्ये पनि काठमाडौंको वायु गुणस्तर सूचकाङ्क ३०० पुगेको थियो भने पोखरा, वीरगंज, हेटौडा, वुटवलमा पनि सूचकाङ्क २०० भन्दा माथि पुगेको थियो । कुनै कुनै स्थानहरुमा यो सूचकाङ्क बढेर ४०० देखि ६०० सम्म पुगेको थियो । यस प्रकारको अत्यधिक सूचकाङ्क भनेको अत्यधिक प्रदुषणयुक्त वायु गुणस्तर वर्गमा पर्दछ ।
वायु प्रदुषणले मानिसहरुमा आँखा पोल्ने, छाला चिलाउने, नाक चिलाउने, नाक पोल्ने हाच्छुउ आउने, खोकी लाग्ने, घाँटी खसखसाउने लगायतका तत्कालीन असरहरु देखिने गर्दछन् । प्रदुषित वातावरणमा लामो समयसम्म रहदा दम, मुटु सम्बन्धी रोग, फोक्सोको क्यान्सर हुने, पक्षघात हुने, मानिसहरुमा बिर्सिने रोग लाग्न सक्ने विभिन्न अध्ययनहरुले जनाएका छन् । दीर्घ रोगको समस्या भएका तथा बालबालिकाहरुमा यसको असर झनै बढ्दछ । यसो हुनुमा बृद्ध तथा बालबालिकाहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुनु मुख्य कारण हो । यस प्रकारको वातावरणीय अवस्थाका कारण गर्भवती महिलाको गर्भमा रहेको शिशुमा समेत असर पर्दछ । विभिन्न अध्ययनका अनुसार स्वस्थ्य हावापानीमा हुर्किएका बालबालिकाको तुलनामा प्रदुषित हावाको सम्पर्कमा लामो समयसम्म बसेका बालवालिकामा मस्तिष्कको विकासमा समेत नकारात्मक असर गर्ने पुष्टि भएको छ ।
समाधानका उपायहरु
एकातर्फ मानव स्वास्थ्यमा गम्भीर असर पर्न जाने अर्कातर्फ नेपालको संविधानले नै स्वच्छ वातावरणमा बाच्न पाउनु नागरिकको मौलिक हकको रुपमा स्थापित गरेता पनि हाल भएको तुँवालो बाहेकका दिनहरुमा पनि काठमाडौं लगायतका शहरहरुमा वायु प्रदुषणको मात्रा अधिक हुने गरेको छ । यस अवस्थामा वायु प्रदुषणका मुख्य कारणहरु, बेलाबेलामा हुने तुवाँलोका घटनाहरुको मुख्य कारण लगायत यसले मानव स्वास्थ्यमा पार्ने अल्पकालीन तथा दीर्घकालिन असरहरु, प्रतिकूल प्रभावहरु र यसको निराकरणको लागि विस्तृत अध्ययन, अनुसन्धान गरी विशेष योजना र सोको प्रभावकारी कार्यान्वयनले यस प्रकारको घटना न्यूनीकरणमा सहयोग गर्ने देखिन्छ । वायु प्रदुषणलाई कम गर्न तत्कालीन र दीर्घकालीन रुपमा गर्नसक्ने उपायहरु अपनाउन राज्य र नागरिकको फरक फरक दायित्व रहेको हुन्छ ।
व्यक्तिगत
● हरेक व्यक्तिले अनावश्यक रुपमा प्रदुषित वातावरण भएका बेला घरबाट बाहिर ननिस्कने, निस्कनै पर्ने अवस्थामा माक्स लगाएर मात्र निस्कने, बालबालिका तथा वृद्धवृद्धाहरुमा प्रदुषणको असर अझ बढि हुने हुदा यस वर्ग प्रति थप सजकता अपनाउने ।
● वातावरण जोगाउनु हरेक व्यक्तिको कर्तव्य एंव दायित्व भएकाले व्यक्तिगत रुपमा हुने वायु प्रदूषकको कारक तत्वहरुलाई कम गराउन पहल गर्ने ।
● जथाभावी ठोस फोहर जलाउन नहुने, वन जंगलमा डढेलो लगाउन नहुने, धुम्रपान नगर्ने आदि ।
राज्यस्तर
● राज्यले धुँवा फ्याक्ने खालका पुराना गाडीहरुलाई निगरानी गरी कडाइका साथ कारबाहीको दायरामा ल्याउनुपर्ने ।
● ठूला कलकारखाना तथा इट्टाभट्टाबाट निस्कने धुँवालाई कम गराउनका निम्ति विशेष नीति बनाई कडाइका साथ लागू गर्नुपर्ने ।
● वन डढेलो तथा तुँवालो घटनाको नकारात्मक असरहरुका बारेमा समुदायलाई शूसुचित गराउने । डढेलोको जोखिममा रहेका समुदायलाई पूर्व चेतावनी दिने व्यवस्था मिलाउने ।
● डढेलो लाग्न सक्ने र तुँवालो घटना हुन सक्ने सम्भावित जलवायु अवस्थाको पूर्वानुमान गर्ने व्यवस्था गर्नुपर्ने ।
● वन डढेलोको अधिक सम्भावना भएका क्षेत्रहरुको नक्शाकंन गरी यस्ता क्षेत्रहरुमा मौसम परिवर्तनसंगै अपनाउनुपर्ने सजगताका विषयमा पूर्वतयारी गर्नुपर्ने ।
● वनक्षेत्र परिसर तथा वरपरको क्षेत्रमा जथाभावी फोहर फ्याक्ने कार्यलाई कडाइका साथ बन्द गर्नुपर्ने ।
● आगजनीको घटना तत्काल थाहा पाउन विशेष निगरानी प्रणाली र घटना पत्ता लगाउने प्रविधिको प्रयोग गर्नुपर्ने ।
● आगजनीका घटना नियन्त्रणका लागि आपतकालीन योजना, रणनीति तथा स्रोतको जोहो तथा व्यवस्थापन गर्नुपर्ने । (स्रोत: विज्ञान लेखमाला, अंक १(३), २०७८)