तेह्रथुमको फेदाप गाउँपालिका-३ का भोगेन्द्र लिम्बूले ६ रोपनी क्षेत्रमा अदुवा खेती गर्दै आएका छन् । अदुवा बिक्रीबाट मात्रै उनले गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेका थिए । अरु अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि उनले परम्परागत खेती मास्दै अदुवा खेती रोजेका हुन् ।
तर अहिले अदुवाले बजार नपाउँदा लिम्बू चिन्तित बनेका छन् । अहिले अदुवाकाे निकासीसमेत ठप्प छ । अदुवा बिक्री नभएर मूल्य समेत घट्नजाँदा किसानको मुख्य आम्दानीको स्राेत नै गुमेको छ ।
‘पोहाेरसम्म व्यापारीहरू घरघरै आउँथे तर,यो साल अदुवा खरिदका लागि व्यापारीले सोधखोजसम्म गरेका छैनन्,’ उनले भने । यसपाली अदुवा बारीमै कुहिने स्थिति आएको उनले बताए ।
फेदाप-३ कै पदम पोखरेलले पनि दुई रोपनी क्षेत्रमा अदुवा खेती गर्दै आएका छन् । ०४२ सालमा आफैले खानका लागि अदुवा रोप्न सुरु गरेका पोखरेलले पछिल्लो समय व्यावसायिक रूपमा खेती गर्दै आएका हुन् । दुई वर्षअघि उनले अदुवा बिक्रीबाट तीन लाख रुपैयाँ आम्दानी गरेका थिए ।
उनी भन्छन्, ‘हामी किसानले उत्पादन गरेको कृषिउपजका वस्तुलाई भण्डार गरी बजारसम्म पुर्याउन सरकारले ध्यान दिए हुन्थ्यो । भण्डारण स्थापना गर्न सके मूल्य पाउन थालेपछि किसानहरूलाई राहत मिल्ने थियो ।’
लिम्बु र पोखरेलको मात्र नभई तेह्रथुमका अन्य किसानहरूको पनि यस्तै समस्या छ । गत वर्ष ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको अदुवा यस वर्ष मूल्यमा गिरावट आएपछि बजार पाउन सकेको छैन । उत्पादित अदुवालाई प्रशाेधन गरी बजारसम्म पुर्याउने प्रशाेधन केन्द्रको अभाव उनीहरूलाई खड्किएको छ ।
तेह्रथुममा दुई सय ७० हेक्टर क्षेत्रमा अदुवा खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र धनकुटाका कृषि प्राविधिक विशाल राईले जानकारी दिए । जिल्लाका ६ वटै पालिकामा खेती हुँदै आए पनि आठराई गाउँपालिकामा अदुवा सबैभन्दा धेरै उत्पादन हुँदै आएकाे कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७७-७८ मा चार हजार ५० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष भने ३९ सय ४२ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादन भएको अदुवा पूर्वी तराई र भारतसम्म निकासी हुने गरेको छ ।