चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका गरी एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएको छ । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ आयात भएको हो ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ एवं सूचना अधिकारी प्रकाश आचार्यको नजरमा यो परनिर्भरता बढ्दै जानुमा तीन तहका सरकारबीच समन्वय हुन नसक्नु प्रमुख कारण रहेको छ । मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेको थियो । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेकाले सामुदायिक क्षेत्रमा उन्नत जात (हाइब्रिड) मकैका बीउ उत्पादन हुन लगभग बन्द भएको छ । यसै कारण बीउमा परनिर्भरता ह्वात्तै बढेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेन्टिना, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट रु ६ अर्ब ९१ करोड ९८ लाख ६६ हजार रुपैयाँ बराबरको एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैको बीउ आयात भएको छ । सबैभन्दा बढी भारतबाट रु ६ अर्ब २५ करोड ५७ लाख ४ हजार रुपैयाँ बराबरको १८ करोड ५५ लाख ८५ हजार ९५० किलोग्राम मकैको बीउ आयात भएको छ ।
त्यसपछि दोस्रो सबैभन्दा बढी मकैको बीउ आयात अर्जेन्टिनाबाट भएको छ । त्यहाँबाट रु ६५ करोड ४१ लाख ३४ हजार रुपैयाँ बराबरको ७७ लाख ३२ हजार ५० केजी मकैको बीउ आयात भएको छ । तेस्रोमा पर्दछ दक्षिण अफ्रिका, जहाँबाट रु १० करोड ९७ लाख ७० हजार रुपैयाँ बराबरको १२ लाख ७४ हजार केजी मकैको बीउ आयात भएको छ ।
सोही अवधिमा ब्राजिलबाट ७ लाख ९२ हजार २४० केजी, टर्कीबाट ३ लाख ४५ हजार केजी, अमेरिकाबाट ३ लाख ८ हजार ४२० केजी र क्यानडाबाट ७ हजार ८०० केजी मकैको बीउ आयात भएको भन्सार विभागले जनाएको छ । आयात भएको मकैको बीउ खरिद गर्दा नेपालले ब्राजिललाई रु ६ करोड ४३ लाख ७० हजार, टर्की र अमेरिकालाई रु २ करोड ९६ लाख ९७ हजार र क्यानडालाई रु ६६ लाख २४ हजार भुक्तानी दिनुपरेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा मकैको बीउ आयातबाट राज्यले रु ३७ करोड ४ लाख ४२ हजार रुपैयाँ भन्सार असुली गरेको छ । मकैको बीउ आयातका कारण बहुराष्ट्रिय कम्पनीका बहुजातीय बीउले स्थानीय जातको बीउलाई विस्थापित गर्ने सम्भावना बढेर गएको छ ।
नेपालीको प्रमुख आहारा धान पछि मकै हो । पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश ग्रामीण जनताको दैनिक खाद्यान्न बाली मकै हो । नेपालमा झण्डै नौ लाख हेक्टर जमीनमा मकै खेती गरिन्छ । उच्च पहाडमा ११, मध्य पहाडमा ७१ र तराईमा १८ प्रतिशत जमिनमा मकै खेती गरिन्छ । नेपालमा मकैको उत्पादन झण्डै २२ लाख मेट्रिक टन छ ।
मकै भुटेर, पोलेर, उसिनेर र कलिलो मकै तरकारी बनाएर खाने चलन छ । यसैगरी मकैको पिठो बनाएर ढिंडो, रोटी, पुवा एवं अन्य परिकारहरू बनाएर पनि खाने गरिन्छ ।
तर पछिल्लो समय पशुपन्छीको दाना बनाउन मकै धेरै प्रयोग हुन थालेको छ । पशुपन्छीको दानाको लागि नेपालले वार्षिक झण्डै चार लाख मेट्रिक टन मकै आयात गर्दै आएको छ । किसानले सहजरुपमा अझैसम्म गुणस्तरीय बीउ पाउन सकेका छैनन् । उनीहरुले उन्नत जातका बीउ सरलरुपमा प्राप्त गर्ने हो भने उत्पादन बढाउन सकिने विभिन्न अनुसन्धानले देखाएको छ । (रासस)