सिंहदरबार परिसरमा गृह मन्त्रालय रहेको ठाउँनजिक अवस्थित सबस्टेशनमा आगो लागेको खबर आयो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुगेर निरीक्षण गरे । सबस्टेशन नभै फिडरको तार जलेको रहेको छ । बुधबार तीन बजे त्यसरी आगो लागेर फिडरको तार जलेको थियो । एउटा फिडरमा सयौं ट्रान्सफरमर हुन्छन् । ती ट्रान्फरमर हँदै प्रवाह हुने बिजुली सिंहदरबार आसपासको अनामनगर लगायत ठूलो इलाकामा अवरुद्ध भयो । १७ घण्टापछि मात्रै तार फेरियो र बिहीबार बिहान सवा १० बजे मात्रै मर्मत सम्पन्न भयो । यसरी ढिलाइ हुनुमा एकै समयमा धेरै ठाउँमा एकै समयमा आगलागी हुनु थियो । मंगलबार, बुधबार बिहीबार देशैभर यसरी नै ठाउँठाउँमा आगो लागेको थियो । काठमाडौं उपत्यकामा जुद्ध बारुणयन्त्र लगायतका दमकलले खम्बामा सल्किएको आगो निभाउँदै आउका छन् । बिहीबार मात्रै आधा दर्जन ठाउँमा ट्रान्सफरमर र खम्बामा लागेको आगो निभाएको जुद्ध बारुणयन्त्रले जानकारी दिएको छ । कतिप ठाउँमा दुई दिनसम्म बिजुली आपूर्तिमा अवरोध आएको गुनासो उपभोक्ताको छ । पावर कम आएर पाँच छाकसम्मको खाना बिग्रेर फाल्नु परेको भन्ने गुनासो सामाजिक सञ्जालमा देखिएको छ । खासगरी माइक्रोवेब चलाउनेहरुको खाना बिग्रेको गुनासो बढी छ । सकेसम्म धेरै बिजुली खपत गर्न सरकारले आह्वान गरेको तर आपूर्ति गर्न नसकेको उपभोक्ता बताउँछन् ।
घिसिङका अनुसार चिसो बढ्नाले माग बढेको, धेरै ठाउँमा तार र ट्रान्सफरमर जलेर बनाउनु पर्ने भएको र पानी परेर खम्बाहरु भिजेकोले कर्मचारी चढ्न गाह्रो हुने भएकोले मर्मतमा केही ढिलाइ भएको जवाफ दिन्छन् । चिसो बढ्दा मानिसहरुले एयर कन्डिशन, हिटर र इण्डक्शन चूलो चलाउनाले विद्युत खपत बढेको उनको भनाइ छ । “गत वर्ष यही समयमा काठमाडौमा बढीमा ३ सय ५० मेगावाट बिजुली खपत भएकोमा यसपटक ५ सय मेगावाट नाघ्यो”, घिसिङले भने- देशभरि १२ सय मेगावाट खपत भएकोमा यसपटक १७ सय मेगावाट पुग्यो ।
मागको लोड बढ्दा तार नै “अण्डर साइज” हुन गै बिजुली आपूर्ति हुन नसकेर आगो लागेको हो । काठमाडौ उपत्यकाका करिब ४० वटा ट्रान्सफरमरमा समस्या छ । उनका अनुसार एउटा खम्बाको ट्रान्सफरमरले ३०० केभीए भन्दा बढी धान्दैन । अर्को टारन्सफरमर राखेर पावर शेयरिङ गर्नु पर्ने हुन्छ । तर कसैले पनि आफ्नो जग्गाअगाडि ट्रान्सफरमर राख्न नदिने गरेको गुनासो उनको छ । तार पूरै भूमिगत नगरेसम्म यस्तो समस्या रहिरहने उनी बताउँछन् । पछिल्लो एक वर्ष आफू प्राधिकरणमा नहुँदा क्षमता विस्तारको काम रोकिएकोले विद्युत प्रवाहको क्षमता बढ्न नसकेको जवाफ पनि उनको छ ।
उपत्यकाको आपूर्तिमा बढी अवरोध आउने ठाउँहरुमा इमाडोल, बालाजु, बानेश्वर र जोरपाटी प्रमुख ठाउँ हुन् । एक ठाउँको ट्रान्सफरमर जल्दा त्यही तारबाट अगाडि जाने विद्युत पनि अवरुद्ध हुन पुग्छ । बिजुलीको खपत बढ्दा चोरीको आशंका पनि घिसिङलाई बढेको छ । चोरिएको बिजुली जथाभावी खपत हुने भएकोले पनि माग अत्यधिक हुन गै संरचनाले धान्न नसक्ने अवस्था आउने उनले बताए । खासगरी ललितपुरको इमाडोल लगायत केही ठाउँमा चोरी धेरै भएको उनको आशंका छ । इमाडोलमा पहिलेदेखि नै समस्या रहेको भन्दै चोरी नियन्त्रणको लागि पनि काम गर्नु परेको उनको भनाइ छ।
“विदेशी ग्यास छोडौं, विदेशी बिजुली बालौं” भन्ने आह्वान घिसिङकै उपस्थितिमा उर्जामन्त्री पम्फा भुसालले गरेकी थिइन् । आह्वान अनुसार नै उपभोक्ताले निस्फिक्री बिजुलीको खपत बढाइदिए । माग बढ्दा तार र ट्रान्सफरमरले धान्न नसक्दा आगो लाग्ने र बिजुली बन्द हुने क्रम बढ्यो । “विद्युत नभएर होइन, २ हजार मेगावाटसम्म उपलब्ध गराउन सक्छौं, यही चिसोको पाँचसात दिन मात्रै गाह्रो भएको हो, त्यसपछि फेरि सजिलै आपूर्ति हुन्छ”, घिसिङ भन्छन् । भारतबाट ल्याएर भएपनि मागअनुसार आपूर्ति गरिने जानकारी गराउँदै उनी भन्छन्- ढुक्कले खपत गरे हुन्छ । नेपालबाट भारततर्फ बिजुली निर्यात गरेको पाँच हप्ता मात्रै हो । त्यसपछि निर्यात बन्द भएको प्राधिकरणमा प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।